
सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । आज (बिहीवार) सशस्त्रको मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघलगायतका प्रतिनिधिसँग छलफल गरेको हो ।
छलफल सीमा इलाकाबाट त्यस प्रकारका सामान तथा वस्तुको चोरीतस्करी नियन्त्रण कसरी गर्न सकिन्छ, भन्ने विषयमा केन्द्रित रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै सरोकारवाला निकायसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताउँदै चोरीपैठारी नियन्त्रणमा संगठन प्रतिबद्ध भएको उल्लेख गरे ।
छलफलका लागि मात्र छलफल नगरी समस्या पहिचानकासाथ समाधानको निष्कर्षमा पुग्ने संगठनको प्रयास रहेको उल्लेख गर्दै महानिरीक्षक अर्यालले एक निकायको एकल प्रयासले मात्र नियन्त्रण प्रभावकारी नहुने भएकोले सबैको सहकार्य र सहयोगमा मात्र परिणाम प्राप्त हुने बताए ।
उनले यस प्रकारका अवैध कार्य रोक्न सीमा इलाकामा सबै पक्ष समेटेर कमिटी नै बनाइ अघि बढ्ने उल्लेख गर्दै सशस्त्र प्रहरी बलले आफ्नो कार्यक्षेत्रमा कुनै पनि किसिमका अवैध गतिविधि गर्न नदिने नीति लिएको र त्यसलाई कडाइकासाथ पालना गराउन सीमा क्षेत्रका युनिटहरूलाई निर्देशनसमेत दिइएको बताए ।
कार्यक्रममा उल्लेखित संघ संस्थाका प्रतिनिधिहरुले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले उल्लेख्य कार्य गरिरहेको भए पनि देशका केही मुख्य नाकाबाट अवैध वस्तु भित्रन सक्ने भएकोले त्यस प्रकारका कार्यले राजस्वमा प्रत्यक्ष असर पर्ने र उद्योगधन्दा धरासायी हुने वा बन्द गर्ने अवस्था आउन सक्ने बताए ।
चोरीतस्करी रोक्नको लागि सरोकारवाला अन्य निकायसँगको समन्वय र नाकाबाट नै नियन्त्रण गर्ने कार्य प्रभावकारी हुनेमा छलफलमा उपस्थित उद्योग व्यवसायीसँग सम्बन्धित प्रतिनिधिहरुले जोड दिएका थिए । कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर रहे पनि अवैध रुपले ती वस्तु मुलुक भित्रेको खण्डमा उद्योग धरासयी हुनेमा पनि उनीहरूको चिन्ता थियो । व्यवसायीहरुले अत्याधुनिक स्रोतसाधनसहित सीमा इलाकामा सशस्त्र प्रहरी बलको जनशक्तिलाई बढाउँदै लैजानु पर्ने धारणासमेत व्यक्त गरेका थिए ।
यसैगरी प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी र लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले अवैध आयात हुनसक्ने नाकामा विशेष निगरानी राख्ने र त्यसका लागि व्यवसायीसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
विगत केही दिनदेखि सीमा क्षेत्रका बाहिनीपतिहरुसँग त्यस क्षेत्रका समस्या र समाधानको उपायका बारे मुख्यालयमा छलफल चलिरहेका बेला सरोकारवाला अन्य निकायहरूसँग समेत समाधानको उपाय निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सीमा इलाकामा सशस्त्र प्रहरी बलको सकृयताको कारण अघिल्लो आर्थिक वर्षको यही अवधि पौष १८ गतेसम्मको तुलनामा यो आर्थिक वर्षमा ४० प्रतिशत बढी बरामदी दाखिला भएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु र सुदूरपश्चिम प्रदेशस्थित नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपतिको समेत उपस्थिति रहेको थियो ।