०१ असार २०८३, सोमबार

सुस्मिता हत्या प्रकरण : २ वर्षपछि सासु-ससुरा र २ नन्दसहित पाँच जना दोषी ठहर

सुस्मिता हत्या प्रकरण : २ वर्षपछि सासु-ससुरा र २ नन्दसहित पाँच जना दोषी ठहर

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाकी २५ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि अभियुक्तहरू दोषी ठहर भएका छन् । चार दिनको बहसपछि पुस २१ गते बिहीबार मकवानपुर जिल्ला अदालतले पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको हो ।

 अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजालसले मृतक सुस्मिताको सासु, ससुरा, २ जना नन्द र जेठी नन्दकी श्रीमानलाई दोषी करार गरेको हो । अदालतले सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा, उनका श्रीमान् अरुण कार्कीलाई हत्याको कसुरदार ठहर गरेको हो ।

जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरि पौडेल, जिल्ला सहायक न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरू राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेतर बालकृष्ण अधिकारीले बहस गरेका थिए भने प्रतिवादीतर्फका आधा दर्जन अधिवक्ताले बहस गरेका थिए ।

मुख्य अभियुक्तको रुपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्मकैद सजायको माग गरिएको छ । दुर्गा र अरुण कार्कीलाई आपराधिक षडयन्त्र गरेको अभियोगमा जन्मकैदको माग गरिएको छ भने मृतक सुस्मिताको सासु तुलसा कुमारी थापालाई मतियारको भूमिका निर्वाह गरेकाले मुख्य अभियुक्तको पाउने सजायको आधा सजाय माग  गरिएको अधिवक्ता अप्सरा बस्नेतले बताइन् ।

मृतक सुस्मिताको बुवा कृष्ण बहादुर केशीले २०७७ असार २९ गते पाँचै जनाविरुद्ध मुद्दा दर्ता गरेका थिए । सुस्मिताको २०७७ असार १ गते राती हेटौंडा उपमहानगरपालिका ५ कर्रास्थित घरमा विभत्स ढंगले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट लौरो जस्तो काठले हिर्काएका थिए ।

सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा निरन्तर प्रहार गरेको प्रहरी समक्ष स्वीकार गरेकी थिइन् । असार २ गते घरको भान्सामा वीभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । तर ससुराले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्