०६ असार २०८३, शनिबार

९३ वर्षको उमेरमा चनमतीलाई बल्ल नागरिकता

९३ वर्षको उमेरमा चनमतीलाई बल्ल नागरिकता
प्रतिकात्मक तस्वीर

हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमती माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुपर्‍यो ।

आवश्यक जानकारी र साथ दिने कोही नहुँदा माझी ९३ वर्षको उमेरसम्म विना नागरिकता बसिन् ।

हिलिहाङ गाउँपालिका–२ पिनासीकी माझीलाई बिहीवार उनकै घरमा पुगेका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, हिलिहाङ–२ का वडाध्यक्ष भीमप्रसाद हेम्ब्या सहितको टोलीले नागरिकता प्रमाणपत्र उपलब्ध गराएको हो ।

विभिन्न सञ्चारमाध्यममा ९३ वर्षको उमेरमा समेत माझीले नागरिकता प्राप्त गर्न नसकेको तथा नागरिकता प्रमाणपत्र अभावमा राज्यबाट पाउने सबै सेवा सुविधाबाट वञ्चित भएको समाचार प्रकाशन/प्रसारण भएपछि प्रशासन र गाउँपालिकाले चासो दिएको थियो । उनको अवस्था बुझ्न गत हप्ता जिल्ला प्रशासन कार्यालयको टोली माझीको घर पुगेको थियो । 

नागरिकता प्राप्त गर्न योग्य व्यक्ति भए पनि माझीले प्रमाणपत्र नपाएको बुझेपछि प्रशासनले उनको घरमै पुगेर उपलब्ध गराएको प्रजिअ गैरेले जानकारी दिए । नागरिकताको प्रमाणपत्र के हो भन्नेसम्म नबुझेकी माझीका श्रीमान्को २ वर्षअघि निधन भएको थियो ।

उनका सन्तान नभएको र अरुका घरमा गएर बस्न नरुचाउने भएका कारण गरीबी र छिमेकीको सहायतामै माझीले जीवन गुजार्दै आएकी छन् । नागरिकताको प्रमाणपत्रकै अभावका कारण उनले सामाजिक सुरक्षा भत्तासहित अन्य सरकारी सेवा समेत लिन नपाएको माझीका छिमेकी बताउँछन् । 

बाख्रा र कुखुरा पालेर बसेकी उनलाई नागरिकता प्रमाणपत्रबारे उत्ति चासो भने थिएन तर अब सामाजिक सुरक्षा भत्ता आउने थाहा पाउँदा भने माझी खुशी छिन् । विगतमा श्रीमान्को सामाजिक सुरक्षा भत्ताको सहायताबाट गुजारा चलाउन उनलाई सहज थियो तर श्रीमान्को निधनपछि माझीको जीवन अभावमा गुज्रिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्