
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।
पार्टी जनसंगठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित २ दिने जनसंगठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोहमा उनले आउँदो मंगलवार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता कार्यकर्तालाई ढुक्क रहन आग्रह गरे ।
‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो,’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने ।
अध्यक्ष ओलीले सांकेतिक रूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए । ‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुईतिहाइको स्थितिमा पुर्याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्याउन सक्छ,’ उनले भने ।
उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए ।
अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए । ‘निर्वाचनअघि भनेझैं नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौं, यसबाट नेपाली जनता खुशी छन्,’ उनले भने ।
एमालेमा जनसंगठनको असाधारण महत्त्व रहेको उनका धारणा थियो । सोमवारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय संगठनका १३० पदाधिकारी सहभागी रहेका छन् ।