०५ असार २०८३, शुक्रबार

कालीकोटमा जनप्रतिनिधिले रोके बालविवाह

कालीकोटमा जनप्रतिनिधिले रोके बालविवाह
प्रतिकात्मक तस्वीर

कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् ।

बाजुराको जगनाथ गाउँपालिका घर भएकी १५ वर्षीया एक किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीया किशोरबीच हुन लागेको विवाह उनीहरूले रोकेका हुन् ।  

पुस १९ गते ती किशोरीलाई बाजुरा जगन्नाथ गाउँपालिकाबाट भगाएर कालीकोटका रास्कोट निवासी युवकले घरमा ल्याएका थिए । उमेर नपुगी हुने विवाहलाई कानूनले मान्यता नदिएकाले स्थानीय र जनप्रतिनिधिले किशोरीलाई अभिभावकको जिम्मा लगाएको वडाध्यक्ष दिनेश सञ्ज्यालले जानकारी दिए ।

‘स्थानीय र जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौं,’ उनले भने, ‘किशोरीको उमेर १५ वर्ष मात्र पुगेको रहेछ । कानूनी रूपमा विवाह गर्न अझै ५ वर्ष बाँकी छ ।’

बालबालिका हुँदासम्म विवाह नगराउने शर्तमा उनीहरूलाई छोडिएको बताउँदै अध्यक्ष दिनेशले भने, ‘५ वर्षपछि यही जोडीले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने शर्तमा कागज बनाएर बालविवाह बदर गरेका छौं ।’

बालविवाह न्यूनीकरणका लागि कालीकोटका स्थानीय तहले निरन्तर प्रयास गर्दा ५ वर्षअघिसम्म ६१ प्रतिशत बालविवाह हुने गरेकामा हाल २३ प्रतिशतमा झरेको छ । बाल अधिकारकर्मी बाले विश्वकर्माले भने, ‘जिल्लामा अझै लुकीछिपी बालविवाह हुने गरेको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्