३१ असार २०८३, बुधबार

जिल्ला प्रशासनमा टाइम कार्ड, १५ मिनेटमै सेवा

जिल्ला प्रशासनमा टाइम कार्ड, १५ मिनेटमै सेवा

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदान गर्ने नागरिकतादेखि राहदानीसम्मका कुनै पनि सेवा लिनका लागि अब १५ देखि ४५ मिनेटभन्दा बढी समय नलाग्ने भएको छ ।   प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरका सेवाग्राहीलाई प्रशासनले प्रदान गर्ने कुनै पनि सेवा लिन झन्झट व्यहोर्नु नपरोस्, छिटोछरितो रुपमा सेवा प्रदान गर्न सकियोस्, सेवाग्राहीले सहज र समयको बचत भएको महसुस गरून् भन्ने उद्देश्यले जिल्ला प्रशासनका टाइम कार्ड अर्थात् समय तालिका लागू गरेकी छन् । 
    
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी शर्माले भनिन्, “सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न टाइम कार्ड लागू गरेका हौँ, गत शुक्रबारदेखि यसको शुभारम्भ गरे पनि आजदेखि यसको प्रभावकारी कार्यान्वयनमा ल्याएका छौँ, अब जिल्ला प्रशासनले प्रवाह गर्ने सेवामा सेवाग्राहीको गुनासो नरहने गरी प्रत्येक सेवालाई मिनेट नै तोकेर सेवा प्रवाह गर्न थालेका छौँ ।”

उनका अनुसार नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई ४५ मिनेटभित्रै नागरिकता उपलब्ध गराउने, संस्था नवीकरणका लागि ३० मिनेट, जनजाति, दलित, मधेसीलगायत सिफारिसका लागि १५ मिनेट, राहदानीको इनरोलमेन्टका लागि ३० मिनेट, राहदानी वितरणका लागि १५ मिनेटको समय तोकिएको छ ।     

त्यस्तै राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि ३० मिनेट, राष्ट्रिय परिचयपत्र वितरणका लागि १५ मिनेट,  मुद्दा पेसी र तारिखका लागि १५ मिनेट, नाबालक प्रमाणपत्रका लागि ४५ मिनेट, पेन्सन सिफारिसका लागि १ घण्टा, हातहतियार नवीकरणका लागि ३० मिनेटमा सेवाग्राहीलाई सेवा उपलब्ध गराइसक्ने गरी टाइम कार्ड निर्धारण गरिएको छ ।  मुद्दा फैसला बढीमा ६० दिनभित्र गरी सक्ने गरी समय निर्धारण गरिएको छ । 

प्रजिअ शर्माले सेवा प्रवाहलाई थप विश्वासिलो र प्रभावकारी बनाउन टाइम कार्ड लागू गरिएको बताउँदै छिटो र छरितो सेवा प्रवाहका लागि कर्मचारी व्यवस्थापन सोही अनुरुप गरिएको बताइन् । 

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जिल्लाको प्रमुख सरकारी कार्यालयमै ढिलासुस्ती भएको गुनासो नआओस् र जनताले सहज सेवाको अनुभूति गर्दै राज्यको उपस्थितिको महसुस गरून् भनेर पहिलो पटक प्रशासने टाइम कार्ड लागू गरिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्