
संसदको संघीय अधिवेशन आज सोमबारदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलो बैठक बस्दैछ । बैठकले प्रतिनिधिसभा नियमावली २०७५ अनुमोदन गर्ने कार्यसूची तय गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३ औँ अधिवेशन शुरु हुन लागेको हो । दुवै सदनका बेग्लाबेग्लै बैठकमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।
सोहीअनुसार प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले गर्नेछन् ।
प्रतिनिधिसभा बैठकमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेता र ४ स्वतन्त्र सांसदले शुभकामना मन्तव्य राख्नेछन् । बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यहरुलाई स्वागत गर्नेछन् ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले) का ७९, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालको १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका १ ÷ १ तथा स्वतन्त्र ४ सांसद् छन् ।
प्रतिनिधिसभा बैठक हाल कायम प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सञ्चालन हुनेछ । बैठकले नियमावली, २०७५ लाई अनुमोदन गर्नेछ । आजको बैठकले ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि नियमावलीअनुसार ७ जनाको अध्यक्ष मण्डल पनि गठन गर्ने कार्यसूची रहेको सहायक प्रवक्ता धमलाले बताए ।
आजको बैठकमा ज्येष्ठ सदस्य जबराले भोलि पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्तावबारे पनि संसद बैठकलाई जानकारी गराउनेछन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।