काठमाडौं, १ भदौ — वरिष्ठ नेता पशुपति शमशेर राणाले पार्टी विभाजन गरी राप्रपा प्रजातान्त्रिक गठनको प्रक्रिया थालेपछि संस्थापनको बैठक अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरको हेटौडामा बसेको छ ।

हेटौंडामा आजदेखि पार्टी अध्यक्ष थापाको सभापतित्वमा केन्द्रीय कार्य समितिको बैठक बसेको हो । राणाले हाल आफ्नो पक्षमा रहेका केन्द्रीय सदस्य तथा सांसदलाई प्रभाव पार्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै थापाले हेटौडामा बैठक बसालेको एक नेताले बताए । स्रोतका अनुसार एक सातायता अघि नै आफूपक्षीय अधिकांश केन्द्रीय सदस्य तथा सांसदलाई थापाले हेटौडमा लगेर राखेका थिए ।
के गर्यो बैठकले निर्णय ?बैठकले हालै देशको विभिन्न भागहरुमा आएको बाढि, पहिरो र डुबानमा परेर धेरै ठूलो जन धनको क्षति भएको प्रति गहिरो दुःख प्रकट गर्दै प्रधानमन्त्री राहत कोषमा ५ (पांच) लाख सहयोग निर्णय गरेको छ ।
यस्तै मृतकका परिवारलाई जनही ५ ( पांच ) लाख आर्थिक सहयोग उपलब्ध गराउन, घाईतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न तथा बिस्थापित परिवारलाई भुकम्प पिडितहरुलाई दिइएको सहयोग सरह घर बनाउन ३ ( तीन ) लाख र थप सहुलियत ऋण प्रदान गर्न समेत बैठकले माग गरेको छ ।
यस्तै राष्ट्रवादी तथा हिन्दुराष्ट्र पक्षधर शक्तिलाई बलियो हुन नदिने योजना अनुरुप राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विभाजन गर्ने प्रयास भएको दाबी गर्दै प्रवक्ता भूवन पाठकले जारी गरेको विज्ञप्तिमा कठिन घडिमा पनि बिचलित नभई उत्साहका साथ पार्टी संगठनको निर्माणमा जुटन नेता तथा कार्यकर्ताहरुमा आह्वान गरिएको छ ।
यस्तै यहि भाद्र ४ गते अगावै विभाजन प्रयासबाट अलग भै पार्टी एकताको पक्षमा खडा हुने सबैलाई यस अघि गरिएको कार्वाहि फिर्ता लिने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्मरण रहोस् निर्वाचन आयोगले भदौ ४ गते राणालाई केन्द्रीय सदस्य तथा सांसदको हस्ताक्षर सनाखत गराउन बोलाएको छ । राणा समूहले ४ गते आयोगमा ४० प्रतिशत पुर्याउन सकेको खण्डमा राप्रपा प्रजातान्त्रिकले फुटको मान्यता पाउने छ । राप्रपा प्रजातान्त्रिक निकट स्रोतले आफ्नो पक्षमा ४० प्रतिशत पुगिसकेको दाबी गर्दै आएको छ भने संस्थापनले कुनै पनि हालतमा पुग्न नसक्ने दाबी गर्दै आएको छ |