
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा भाग लिन नयाँबानेश्वरस्थित संसद भवन पुगेका महामन्त्री थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारको स्थिरता चुनौतीको विषय भएको बताए। उनले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गरे।
निर्वाचन अगाडि एउटा गठबन्धन पछि अर्को गठबन्धनस्वरूप भएकाले पनि सरकारको स्थिरतामा चुनौती भएको उनको भनाइ छ। महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रुपमा लिनुपर्ने पनि बताए। महामन्त्री थापाले संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सम्बोधनले उनीहरूबीच विग्रहको बीजारोपण भएको टिप्पणी गरे।
ओलीले अघिल्लो प्रतिनिधि सभा विघटनलाई प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन भनेको भन्दै सो कुरा नै विग्रहको कारण बन्न सक्ने उनको भनाइ छ । उनले भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको प्रधानमन्त्रीलाई एउटा अवस्थामा भने बडो अफ्ठ्यारोमा पार्नुभएको मैले याद गरें। प्रतिनिधि सभा विघटन गरेको कुरा सोह्रैआना सत्य थियो । त्यो जनताको पक्षमा थियो । त्यसलाई प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भन्दैगर्दा हालका प्रधानमन्त्रीले टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा परेको देख्दै गर्दा मलाई अलिकति सहानुभूति प्रकट गर्न मन लाग्यो ।
यसमा सामान्य अलमल देखिए पनि यसलाई आफूले सामान्य नमानेको उनले बताए। 'किनकि यो विषयको हल नगरीकन, यो विषयबारे एकपटक पनि छलफल नगरीकन, सामान्य शुभेच्छा पनि नगरीकन दुई वटा पार्टी एकठाउँ जोडिनुभएको छ । आजको पहिलो बैठकमा उहाँहरूले गरेको सम्बोधनले के संकेत गर्छ भने योभन्दा अघिल्लो प्रतिनिधि सभामा उहाँहरूबीच बिग्रहको कारक बन्यो । यो विषयको बीजारोपण आज फेरि भयो । यो नै उहाँहरूबीच बिग्रहको कारक बन्छ।
महामन्त्री थापाले सरकारले सरकारको भूमिका र प्रतिपक्षले प्रतिपक्षको मूमिका इमानदारीतापूर्वक निर्वाह गरे संसदमा कुनै पनि समस्या नआउने बताए।