
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक बनेका छन् । सोमबार साँझ धुम्बाराहीस्थित देउवा निवास पुगेर प्रचण्डले मत मागेसँगै उनले सकारात्मक जवाफ दिएका हुन् । देउवाको सचिवालयका अनुसार पार्टीभित्र छलफल गरेर यसबारे निर्णय दिने प्रचण्डले जवाफ पाएका छन् ।
यसका लागि देउवाले मंगलबार बिहानका लागि पदाधिकारी बैठक बोलाएका छन् । पदाधिकारीको बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने या नदिने भन्नेबारे टुंगो लाग्नेछ । त्यसछि पार्टी संसदीय दलले औपचारिक निर्णय लिनेछ ।
भेटपछि प्रवक्ता डा. प्रकाशरण महतले भोलि पार्टीको बैठकमा सल्लाह गरेर टुंगोमा पुग्ने जवाफ सभापतिले प्रचण्डलाई दिएको जानकारी दिए । महतले लोकान्तरसँग भने, 'प्रधानमन्त्रीले सहकार्य गरेर जान्छु विश्वासको मत दिनुस् भनेर सहयोग माग्नुभयो । सभापतिले भोलि बैठक छ सल्लाह गरेर एउटा टुंगोमा पुग्छौँ भन्ने जवाफ दिनुभयो ।'
कांग्रेसबाहेक सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिँदैछन् ।
सत्ता साझेदार दलको आइतबारको बैठकले प्रचण्डलाई विश्वासको मतका लागि संसदमा रहेका सबै दलसँग आग्रह गर्ने निर्णय गरेको थियो । सोही अनुसार मत माग्न प्रचण्ड देउवा निवास पुगेका हुन् । चुनावपछि देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेपछि एकाएक तत्कालीन सत्ता गठबन्धन भत्किएर एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेको थियो ।