
कर्णाली प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
एमाले सांसदहरूले सत्ता साझेदारीका विषयमा माओवादी केन्द्रसँग टुंगोमा पुग्दा कम्तीमा सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने अडान राख्न नेतृत्वलाई सुझाव दिएका छन् ।
सत्ता साझेदार दलहरूको आइतवारको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्र, सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले लिने निर्णय गरेको थियो । एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले मंगलवार बसेको संसदीय दलको बैठकमा सबै सांसदहरूले प्रदेश सरकारको नेतृत्व एमालेले पनि गर्न पाउनुपर्ने शर्त राख्नुपर्ने धारणा राखेको बताए ।
‘पाँचै वर्ष माओवादी केन्द्रलाई नेतृत्व सुम्पेर पार्टी केन्द्रले अन्याय गर्यो भन्ने सबै सांसदहरूको भनाई थियो,’ उनले भने, ‘सबै सांसदहरूले समसामयिक परिस्थिति र पार्टीको भूमिकाबारे धारणा राख्ने काम भयो ।’
प्रदेशसभा सदस्य समेत रहेका अध्यक्ष शाहले संसदीय दलको बैठकले सत्ता साझेदार दलसँग वार्ता गर्ने अधिकार दलका नेता यामलाल कँडेललाई दिने निर्णय गरेको जानकारी दिए । कुन–कुन मन्त्रालयमा दाबी गर्ने, सरकारको नेतृत्वमा आलोपालोको माग राख्ने लगायतका विषयमा दल नेताले नै संवाद गर्ने गरी बैठकले जिम्मेवारी दिएको उनको भनाई छ । संसदीय दलको बैठकमा सहभागी एमाले कर्णाली प्रदेशका सहइन्चार्ज एवं पोलिट्ब्युरो सदस्य गुलाबजंग शाहले कम्तीमा प्रदेश सरकारको नेतृत्वमा आलोपालोको व्यवस्था हुनुपर्ने अडान रहने बताए । ‘यस विषयमा पार्टी केन्द्रसमक्ष कुरा राखेका छौं,’ उनले भने ।
माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले सत्ता साझेदारीका विषयमा एमालेसँग औपचारिक बैठक नभएको बताए । ‘आज ११ बजे २ दलका नेताहरू बस्ने कुरा छ, उहाँहरूको कुरा अनौपचारिक रूपले हामीले सुनिसकेका छौं, औपचारिक रूपले आज कुराकानी होला,’ उनले भने, ‘प्रदेश सरकारको नेतृत्वको विषयमा केन्द्रमा गठबन्धनले गरेको निर्णय भएकाले हाम्रो जिम्मामा छैन, केन्द्रीय गठबन्धनले टुंग्याउने विषय हो ।’
प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेश गर्न बुधवार साँझ ५ बजेसम्मको समय तोकेका छन् । माओवादी केन्द्रका नेताहरूले एमालेसँग संवाद गरेर निर्धारित समयभित्रै दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताएका छन् ।
कांग्रेससँग साझेदारीको विषय बेकारको हल्ला : अध्यक्ष शाह
एमाले प्रदेश अध्यक्ष शाहले एमालेले नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्ने कुनै सम्भावना नभएको र अनावश्यक हल्ला फैलाइएको बताएका छन् । ‘संसदीय दलको बैठकमा बोल्ने सबै सांसद र नेताहरूले केन्द्रमा बनेको वर्तमान सत्ता समीकरणको स्वागत गर्नुभयो, सत्ता समीकरण जोगाएर जानेमा सबै एकमत भएको अवस्था छ,’ उनले भने, ‘सरकारको नेतृत्व नपाउँदैमा कांगे्रससँग समीकरण बनाउने वा केन्द्रको निर्णयको अवज्ञा गर्ने कुरा सोच्न सकिँदैन ।’