
कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघसहित केही भ्रातृ संस्थालाई एक साताभित्रै पूर्णता दिने तयारी गरेका छन् । सभापति देउवाले नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र तरुण दल अध्यक्ष विद्वान् गुरुङसँगको छलफलमा एक साताभित्रै पूर्णता दिने वचन दिएका हुन् ।
५ चैतमा स्ववियुको चुनाव नजिक आएपछि देउवाले पहिले नेविसंघ केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने गरी तयारी बढाएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
‘५ चैतमा स्ववियुको पनि चुनाव आइसकेकको छ । यसैले पनि नेविसंघको केन्द्रीय समितिले पूर्णता नपाउँदा समस्या हुने कुरा उठेको छ’, भेटमा सहभागी भएका एक नेताले भने, ‘सभापतिले पहिले नेविसंघलाई यही हप्ताभित्र पूर्णता दिने वचन दिनुभएको छ । त्यसपछि अरू भ्रातृ संस्थाले पनि पूर्णता पाउनेछन् भन्ने बुझेका छौं।’
नेविसंघमा १०१ देखि १५० बीचमा कार्यसमिति बनाउने गरी छलफल भइरहेको बुझिएको छ । नेताले आवश्यकता महसुस गरे पदाधिकारी पनि चयन हुने नभए केन्द्रीय सदस्य मात्रै थपिने जानकारी ती नेताले दिए ।
पदाधिकारी र पूर्वपदाधिकारीको दबाब
बिहीबार देउवा निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको छलफलमा पनि भ्रातृ संस्थामा अध्यक्ष मात्रै चयन गर्दा काम गर्न नसकेको भन्दै छिटो पूर्णता दिने समझदारी बनेको थियो । ‘एउटा जिवन्त पार्टीमा भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नु भनेको दुखद् हो । यसैले छिटो यस्ता संस्थालाई पूर्णता दिन माग गरेका थियौं । सभापतिले पनि भ्रातृ संस्थालाई अब रोक्दिनँ भन्नुभएको छ’, ती नेता भन्छन्, ‘भ्रातृ संस्थालाई पूर्णता दिएर मात्रै केन्द्रीय समितिको बैठक डाक्ने तयारीस्वरूप माघ १५ मा पुर्याएको जानकारी पाएका छौं ।’
यी संस्थापमा अहिलेसम्म अध्यक्ष मात्रै
लामो समयसम्म महाधिवेशन हुन नसकेपछि महाधिवेशन गराउन सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दल अध्यक्षमा विद्वान् गुरुङलाई चयन गरेको चैतमा १० महिना नाघेको छ । त्यस्तै नेपाल महिला संघमा उषा राउत, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तीमगर र किसान संघमा गणेश चन्दलाई अध्यक्ष चयन गरेको पनि लामो समय भइसकेको छ ।