
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागेका छन्।
आफ्नो नेतृत्वको सरकारले प्रदेशको औचित्य पुष्टि गर्ने भएकाले र प्रदेशको भ्रम चिर्न पनि आफूलाई विश्वासको मत दिन उनले सांसदहरूलाई आग्रह गरेका हुन्। उनले भने, 'संघीयताप्रति विरोध हुने आवाज पनि छन् ,त्यसलाई अन्त्य गर्नु छ ।'
मैनबत्ती बालेर काम गरेको अनुभव सुनाउँदै मन्त्री कार्कीले अघिल्लो सरकारहरूलाई पनि धन्यवाद दिए ।
प्रदेश संरचनालाई व्यवस्थित गर्दै लैजान पनि सबैको साथ सहयोग आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् । प्रदेशमा सुशासन कायम गर्ने उनले बचन दिए । छरितो सरकार बनाउने लक्ष्य रहेको कार्कीले बताए । प्रदेशसभाको नामकरण गर्न सबै जना एकै ठाउँमा हुनुपर्ने उनको भनाइ थियो।
'सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलले विश्वासको मत दिनुहुन्छ भन्नेमा म ढुक्क छु,' उनले भने।
नेकपा माओवादीसहित दलको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको उनलाई समर्थन छ।