२२ जेठ २०८३, शुक्रबार

विनाधितो २५ लाख कर्जा बनाउन अर्थमन्त्रीसमक्ष माग

विनाधितो २५ लाख कर्जा बनाउन अर्थमन्त्रीसमक्ष माग

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकले प्रदान गर्दै आएको विनाधितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

शुक्रबार महासंघको पदाधिकारीको टालीले उप्रधान तथा अर्थमन्त्री पौडेललाई मन्त्रालयमा भेटेर बैंकले प्रदान गर्दै आएको विनाधितो कर्जा १५ लाखबाट वृद्धि गरेर २५ लाख बनाउन माग गरेको हो। 

महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायीहरू व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै बैंकको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने माग राखे। 

उनले भन्सार दरबन्दीको महँगीका कारण बजार मूल्य बढेकाले भन्सार दरबन्दी घटाउन सुझाव दिए। उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिन माग राखे। 

अध्यक्ष कार्कीले बैंकको कर्जा ड्रावल्टमा भइरहेको झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्ने बताए। बैंकले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचनालाई ६ महिना समय कायम गर्नुपर्ने उनले बताए। व्यापार व्यवसायीको लागि वैज्ञानिक भाडादर कायम गर्न पनि उनले माग गरे।​

केरुङ, खासालगायत चिनियाँ नाकामा नेपाली व्यवसायीलाई सहज रुपमा जान पाउनुपर्ने व्यवस्था गर्न माग पनि गरे। 

त्यस्तै महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले उद्योगी व्यवसायीहरूलाई बैंकको ब्याजदरको कारण परेको प्रभावको विषयमा अर्थमन्त्रीलाई ध्यानाकर्षण गरिएको बताउनु भयो । उनले साना व्यवसायीहरूसँग अर्थ मन्त्रालले समन्वय गर्न माग गरेको बताए। 

उनले व्यसायीहरूलाई सहज पहुँच तथा भन्सार नाकामा सहजता ल्याउन र चोरी पैठारीको रोकथाम गर्न माग गरिएको बताए।  पछिल्लो समय बजारमा देखिएको तरलता सहज बनाई सरकारले व्यवसायीमैत्री वातावरण बनाउन उनले माग गरे। 

व्यवसायीहरूको मागमा अर्थमन्त्री सकारात्मक रहेकाले माग सम्बोधन हुने कुरामा विश्वस्त रहेको बताए। ​ ​

त्यस्तै महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंकहरूले व्यवसायीहरूलाई आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्‍याएकोभन्दै अर्थमन्त्रीसँग गुनासो गरिन्। साना व्यवसायीहरूलाई बैंकले रोएर बस्नुपर्ने अवस्था बनाएकाले महासंघले उठाएका तीन वटा माग सम्बोधन गर्न उनले आग्रह गरिन्।

उनले सरकारले एलसी खोल्न बन्द गर्दा व्यवसायीहरूले सामान ल्याउनसमेत नसकिएको बताइन्। 

salt training

कमेन्ट गर्नुहोस्