३२ असार २०८३, बिहीबार

काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्सले पाएन काम

काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्सले पाएन काम

काठमाडौं महानगरपालिकाले विगत ६ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ ।  

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो हप्तादेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । सञ्चालनको शुरूआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरूप समाधान हुने गरेको थियो ।

अहिले ४–५ दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए ।

उनका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्डो पुर्न गुनासो आउँछ । त्यो पनि सम्बन्धित वडाध्यक्षबाट आउँछ । नागरिकले कामपाको टोल फ्री नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न भने छोडेका छन् ।  

शुरूमा कामपाले वातावरण विभागको २ वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिएको हो । तत्कालको समयमा ती दुईलाई काम भ्याउन मुस्किल थियो । अहिले दुईमध्ये एक बिग्रिएको छ । भएको एउटाले पनि काम पाउन सकेको छैन । ‘४–५ दिनमा एउटा काम गर्न गुनासो आउँछ,’ विभागका प्रमुख थापाले भने ।   

विशेषगरी कामपाको क्षेत्रभित्रबाट सडकको खाल्डो पुर्न आएको गुनासोकोे तत्काल सम्बोधन गर्न उक्त एम्बुलेन्स प्रयोग ल्याइएको थियो । बर्खाको तुलनामा अहिले सडकमा खाल्डा कम पर्ने, सडक विभागले गर्नुपर्ने स्थानमा काम नियमित भइरहेको र कामपाले आफ्नो अधिकार क्षेत्रभित्रका सडक मर्मत काम नियमित गरिरहेकाले पूर्वाधार एम्बुलेन्सले काम नपाएको प्रमुख थापाको भनाइ छ । 

नगन्य रूपमा आएको गुनासो महानगरका इन्जिनीयर र कामदारसहित ३ जनाको टोली टोल–टोलमा पुगेर सडक मर्मतको काम भने गरिरहेकै छन् । अहिलेसम्म डल्लु, नयाँबानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रमा धेरै यस्ता किसिमको काम भएको जनाइएको छ ।

दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझमात्र यस्ता काम गर्न थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्