
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान भएको भेटमा सरकार विस्तार, सभामुखको निर्वाचन लगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।
आगामी माघ ५ गते प्रतिनिधिसभा सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।