
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आज शनिबार कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर लाउन्जमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाबाट पेश भएको आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक आर्थिक विवरणसहित वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरणअन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचिहरू साधारणसभाले स्वीकृत गरेको छ।
साधारणसभाले ०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक तोक्ने प्रस्ताव पनि सर्वसम्मतले स्वीकृत गरेको छ।
साधारणसभामा शेयरधनीहरूले पुस मसान्तसम्म साधारणसभा गरेर जरिवानाबाट बच्नु राम्रो भए पनि आगामी वर्षदेखि पुस महिना अगाडि नै साधारणसभा सम्पन्न गर्न सुझाव दिएका थिए। त्यस्तै उनीहरूले कम्पनीको हकप्रद निष्काशनमा भइरहेको ढिलाइबारे जिज्ञासा राखेका थिए ।
शेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष इन्द्र बहादुर थापाले विद्युत् नियमन आयोगबाट हकप्रदको लागि स्वीकृति प्राप्त हुने क्रममै रहेकाले आयोगबाट स्वीकृति आएपछि थप प्रक्रिया बढ्ने बताए ।
सिनर्जीले लगानी गरेको कम्पनीले निर्माण गर्ने आयोजनाको २५ प्रतिशत प्रगति भएपछि मात्र हकप्रदका लागि स्वीकृति प्राप्त हुने उनले बताए ।
यही प्राविधिक कारणले हकप्रदमा ढिलाइ भए पनि अब भने २५ प्रतिशत प्रगति भइसकेकाले अब माघ महिनामा स्वीकृति आइसक्ने उनले जानकारी दिए।
त्यस्तै उनले लाभांश दिन सक्ने अवस्था रहे पनि कम्पनीले त्यसलाई ऋण तिर्न र अन्य लगानी गर्ने प्रयोग गरेकाले आगामी वर्षदेखि उचित प्रतिफल दिने बताए ।