
गृहजिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन रोल्पा पुगेका माओवादी उपमहासचिव वर्षमान पुन बिरामी परेपछि काठमाडौं ल्याइएको छ ।
बिहीबार दाङ हुँदै शुक्रबार रोल्पा पुगेका पुनलाई शनिबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
‘समृद्ध रोल्पा’ फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी शुक्रबार बिहान रोल्पा पुगेका थिए । शुक्रबार होलेरीमा न्यायो कपडा वितरण कार्यक्रम सकेर उनी शनिबार सुनछहरी गाउँपालिकाको पोवाङमा पुगेका थिए ।
पेट फुल्ने समस्या भएपछि उनलाई आज आकस्मिक रुपले काठमाडौं ल्याइएको हो । ललितपुरको जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उनको उपचार शुरू भएको एक सहयोगीले लोकान्तरलाई जानकारी दिए ।
दुर्लभ खालको जन्डिसबाट पीडित पुन गत महिना मात्र चीनमा उपचार गरेर फर्केका थिए ।