३० असार २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेशसभा शनिबार पनि सभामुख चयन गर्न असफल, नागरिक उन्मुक्ति पार्टी तटस्थ

सुदूरपश्चिम प्रदेशसभा शनिबार पनि सभामुख चयन गर्न असफल, नागरिक उन्मुक्ति पार्टी तटस्थ

सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा पनि सभामुख चयन गर्ने प्रयास असफल बनेको छ । यसअघि शुक्रबार पनि बहुमत नपुग्दा चयन हुन सकेको थिएन । शनिबार सभामुख चयनसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको हो । 

 सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेको हो । 
  
प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काको प्रस्ताव उपर गरिएको मत विभाजनमा ‘हुन्न’ भन्ने पक्षमा २२ मत र ‘हुन्छ’ भन्ने पक्षमा पनि २२ मत परेको छ । 

यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा एमालेकी जानकी ऐर बमले राखेको अर्को प्रस्ताव उपर भएको मतविभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २२ र ‘हुन्न’ भन्ने पक्षमा पनि २२ मत परेको छ । 

 आजको बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसकी सरस्वती खड्का अनुपस्थित रहिन् । नागरिक उन्मुक्तिका सबै सात सदस्य बैठकमा उपस्थित भए पनि मत विभाजनमा तटस्थ बसे । सभामुखको भूमिकामा रहेका नेपाली कांग्रेसका शिवराज भट्टले मत विभाजनमा भाग लिएनन् । 

  सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । आजको बैठकमा सभामुखको भूमिकामा रहेका भट्टले सभामुख चयन गर्न आवश्यक बहुमत सङ्ख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराए । त्रिपन्न सदस्यीय प्रदेशसभामा काँग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य छन् ।
 अर्को बैठक यही माघ २ गते बिहान ९ बजे बस्ने कार्यक्रम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्