
राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघी तथा माघे संक्रान्ति पर्वले नेपालीमा शान्तिको सन्देश फैलाउँदै आपसी एकता, सदभाव र सहिष्णुता राख्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
माघे संक्रान्तिको अवसरमा आज आइतबार शुभकामना सन्देश दिंदै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताए । “थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायहरुले मनाउँदैआएको माघे संक्रान्ति, तिलुवा संक्रान्ति, मकर संक्रान्ति, किराँत येले संवत्को नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा भनेका छन् ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने पर्वलाई विशेषगरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदैआएको पाइन्छ उनले भनेका छन्, “सूर्यको उत्तरी र दक्षिणी धुव्रको अवस्थितिको आधारमा यसको गणना र मापन गरिन्छ । यो समयमा सूर्य उत्तर दिशातर्फ सर्दैजाने र उत्तरी गोलार्ध सरेपछि सूर्यको न्यानोपना बढ्दै जाने विश्वास गरिन्छ ।”
धनुबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति भन्ने गरिन्छ भन्दै अध्यक्ष तिमिल्सिनाले प्रथम किराँत राजा यलम्बर हाङको स्मृतिमा यस दिनलाई किराँत येले संवत्को नयाँ वर्षको रुपमा पनि मनाइने गरेको सन्देशमा भनेका छन् ।