
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । ९ एन एटीआर ७२ विमान पोखरा रंगशालानजिकै सेती खोंचमा दुर्घटनामा परेको हो ।
क्याप्टेन कमल केसी र को-पाइलट अञ्जु खतिवडाले उडाएको विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सले जनाएको छ ।
दुर्घटनास्थलबाट कम्तीमा ३२ शव निकालिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
'हालसम्म ३२ देखि ३३ वटा शव निकालिसकिएको छ । कसैलाई जीवितै उद्धार गर्न सकिन्छ कि भनेर हर सम्भव प्रयास गरेका छौं । तर, दुर्भाग्यवश अहिलेसम्म कसैलाई पनि जीवित उद्धार गर्न सकेका छैनौं,' केसीले भने ।
विमान तीन टुक्रा भएर तीनतिर छरिएको अवस्थामा पाइएको उनले बताए । एकतिरबाट नेपाली सेना, अर्कोतिरबाट नेपाल प्रहरीसहित सुरक्षाकर्मीहरूले उद्धारका लागि सक्दो प्रयास गरेको उनको भनाइ छ ।
दुर्घटनास्थल खोंचमा रहेकाले उद्धार र शव संकलनमा कठिनाइ भइरहेको उनले बताए ।