
नागरिक उड्डयन प्राधिकरणले यती एअरको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
एक सूचना निकाल्दै प्राधिकरणले विमान दुर्घटनामा २५ जना महिला, ३७ जना पुरुष, ३ जना बालक र ३ जना शिशुको मृत्यु भएको जनाएको हो। अन्य चार जनाको भने अवस्था अझै अज्ञात रहेको उसले जनाएको छ।
साथै दुर्घटनामा परेका यात्रुबारेमा जानकारी चाहिए प्राधिकरणले दुई ओटा नम्बर उपलब्ध गराएर सम्पर्क गर्न आग्रह गरेको छ।
प्राधिकरणले काठमाडौं, तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकप्टरहरू तयारी अवस्थामा राखेको जनाएको छ।
स्थलमार्गबाट खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र विमानस्थलस्थित रेस्क्यु तथा फायर फाइटिङको समेत प्रयोग गरिएको प्राधिकरणले जनाएको छ।
