
आइतवार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकदोहोरी गायिका निरा छन्त्यालको पनि मृत्यु भएको छ ।
दुर्घटनामा विमानमा सवार ६८ जनाको मृत्यु पुष्टि भएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ ।
गायिका निराको मृत्यु भएको खबर उनको पारिवारिक स्रोतले पुष्टि गरेको हो ।
मृत्यु हुनेहरूको शव पोखरास्थित गण्डकी प्रादेशिक अस्पतालमा राखेर सनाखत गरिएको छ ।
यात्रुका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गरिएको छ ।
अस्पतालमा रहेका गायिका निराका आफन्त गोविन्द पुनले भने, – ‘भर्खर ३० जनाको शव ल्याएको थियो । त्यसमा निराको छैन । फेरि ३२ जनाको ल्याउँदैछ ।’
उनले अगाडि थपे, ‘भित्र गएर शव पहिचान गर्न पनि गाह्रो छ । कोहीको टाउको नै छैन । कोहीको आधा अनुहार नै छैन । कोहीको शरीर एकदमै डढेको छ । ति शवहरू देख्दा निराको कस्तो अवस्थामा होला भन्ने कुराले एकदमै आत्तिएको छु ।’
निराकी दिदी हिरा छन्त्यालका अनुसार बहिनीले बिहान १० बजे काठमाडौं एयरपोर्टबाट आमालाई फोन गरेर पोखरा जाँदैछु भनेकी थिइन् ।
हिराले भनिन्, ‘पोखरा पुगेर आधा घण्टामा फोन गर्छु है भनेकी रहिछन् । तर, त्यसपछि उनको फोन आएन ।’
विमान दुर्घटनामा परेको खबर आएपछि निराका बुवालगायत आफन्त बागलुङबाट पोखरातर्फ जाँदै गरेको उनले बताइन् ।
गायिका निरा माघे सङ्क्रान्तिको अवसरमा आइतवार पोखरामा आयोजित एक कार्यक्रममा सहभागी हुन प्रस्थान गरेकी थिइन् ।
नेपाल छन्त्याल युवा संघ जिल्ला समिति कास्कीले कार्यक्रमको आयोजना गरेको थियो । यद्यपि, उनी चढेको विमान दुर्घटनामा परेको खबरसँग कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाले जनाएको छ । गायिका निराले पोखरा उडनुअघि तस्वीर पोष्ट गर्दै माघे सङ्क्रान्तिको शुभकामना दिएकी थिइन् ।
उनले शनिबार काठमाडौंमा समेत साङ्गीतिक प्रस्तुति दिएकी थिइन् । काठमाडौंको कार्यक्रमका तस्विर राख्दै उनले लेखेकी थिइन् ‘अब भोलि पोखरामा रमाइलो गर्नुपर्छ ।’ बागलुङकी उनले स्वर दिएका केही लोकदोहोरी गीतहरू स्रोता दर्शकहरूले रुचाएका छन् । यस वर्ष तीजमा समेत उनले नयाँ गीत ल्याएकी थिइन् । लाइभ दोहोरी गायनमा पनि उनी सक्रिय थिइन् ।