
आज विभिन्न प्रदेशका उच्च पहाडी भूभागमा हिमपात हुने र तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढ्नेक्रम जारी रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
देशभर न्यून चापीय प्रणालीको सामान्य असर रहेकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी भूभागमा हिमपात हुने र पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागको भनाइ छ ।
त्यस्तै, आज माघ २ गते सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । एक दुई ठाउँमा हल्का हिमपात हुनेछ । सोहीअनुसार भोलि मंगलबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
यसैबीच, बुधबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी भूभागमा हिमपात हुने विभागले जनाएको छ । तराईमा विहानीको समयमा बाक्लो हुस्सु र कुहिरो जारी रहने हुनाले जनजीवन प्रभावित हुने विभागको भनाइ छ । चिसोबाट बच्न अन्य उपाय अपनाउन पनि आग्रह गरेको छ ।