२२ जेठ २०८३, शुक्रबार

विमान दुर्घटना: शवहरूको परीक्षण र पोस्टमार्टम गर्दै मेडिकल टीम, ४ जना अझै भेटिएनन्

विमान दुर्घटना: शवहरूको परीक्षण र पोस्टमार्टम गर्दै मेडिकल टीम, ४ जना अझै भेटिएनन्
गण्डकी अस्पतालबाहिरको दृश्य

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत र पोस्टमार्टमको प्रक्रिया चलिरहेको छ ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शवहरूको पहिचान र पोस्टमार्टमका लागि काठमाडौंबाट मेडिकल टीम पोखरा पुगेको छ ।

केन्द्रबाट गएको टीम र पोखरामै उपलब्ध चिकित्सकहरूले पोस्टमार्टम गरिरहेका छन् ।

३८ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत र पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढेको  कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

'बल्ल काम शुरू गर्‍यौं । मेडिकल भित्र छिरेको छ । केही शव नचिनिने अवस्थामा पनि छन्,' प्रजिअ केसीले लोकान्तरसँग भने ।

४ वटा शव अझै नभेटिएको उनले बताए । '४ जनाको शव अझै मिसिङ छ, खोजीका लागि सम्बन्धित टीम खटिराखेको छ,' केसीले भने ।

पोखरा र त्यस आसपासका व्यक्तिहरूको शव पोखरामै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी छ ।

काठमाडौंबाट बुझ्ने र विदेश पठाउनुपर्ने शव भने पोस्टमार्टम नगरी काठमाडौं पठाउने तयारी भएको केसीले बताए ।

'सकेसम्म आजै काठमाडौं पठाउन खोजेको हो, हेरौं कति सम्भव हुन्छ,' केसीले भने ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको ९ एनएसी एटीआर ७२ विमान आइतवार सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा चालक दलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । त्यसमध्ये ६८ जनाको शव भेटिएको छ । बाँकी ४ जनाको खोजी कार्य जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्