
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत र पोस्टमार्टमको प्रक्रिया चलिरहेको छ ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शवहरूको पहिचान र पोस्टमार्टमका लागि काठमाडौंबाट मेडिकल टीम पोखरा पुगेको छ ।
केन्द्रबाट गएको टीम र पोखरामै उपलब्ध चिकित्सकहरूले पोस्टमार्टम गरिरहेका छन् ।
३८ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत र पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।
'बल्ल काम शुरू गर्यौं । मेडिकल भित्र छिरेको छ । केही शव नचिनिने अवस्थामा पनि छन्,' प्रजिअ केसीले लोकान्तरसँग भने ।
४ वटा शव अझै नभेटिएको उनले बताए । '४ जनाको शव अझै मिसिङ छ, खोजीका लागि सम्बन्धित टीम खटिराखेको छ,' केसीले भने ।
पोखरा र त्यस आसपासका व्यक्तिहरूको शव पोखरामै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी छ ।
काठमाडौंबाट बुझ्ने र विदेश पठाउनुपर्ने शव भने पोस्टमार्टम नगरी काठमाडौं पठाउने तयारी भएको केसीले बताए ।
'सकेसम्म आजै काठमाडौं पठाउन खोजेको हो, हेरौं कति सम्भव हुन्छ,' केसीले भने ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको ९ एनएसी एटीआर ७२ विमान आइतवार सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा चालक दलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । त्यसमध्ये ६८ जनाको शव भेटिएको छ । बाँकी ४ जनाको खोजी कार्य जारी छ ।