सन् २०२१ मा भारतका शीर्ष १ प्रतिशत धनाढ्यसँग देशको कुल सम्पत्तिको ४०.५ प्रतिशत सम्पत्ति रहेको अक्सफ्यामको नयाँ प्रतिवेदनले देखाएको छ ।
सन् २०२२ मा भारतमा अर्बपतिहरूको संख्या १६६ पुगेको पनि प्रतिवेदनले औंल्याएको छ । उक्त संख्या सन् २०२० मा १०२ थियो ।
अनि देशका गरीबहरूले बाँच्नका लागि आवश्यक वस्तु पनि जुटाउन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अक्सफ्यामले भारतकी अर्थमन्त्रीलाई अति धनाढ्यमाथि सम्पत्ति कर लगाउन आह्वान गरेको छ । यो घिनलाग्दो असमानतालाई हटाउन सम्पत्ति कर आवश्यक रहेको उसको तर्क छ ।
स्विटजरल्यान्डको डाभोसमा वर्ल्ड इकोनोमिक फोरमको आरम्भ भएसँगै सर्भाइभल अफ द रिचेस्ट शीर्षकको प्रतिवेदन सार्वजनिक भएको हो ।
प्रतिवेदनले भारतमा सम्पत्ति पुनर्वितरणमा रहेको ठूलो अन्तरलाई उजागर गरेको छ । सन् २०१२ देखि २०२१ सम्म देशमा सिर्जित सम्पत्तिमध्ये ४० प्रतिशतभन्दा बढी जम्मा १ प्रतिशतलाई गएको छ । अनि तल्लो तहमा रहेका ५० प्रतिशत मानिसमा जम्मा ३ प्रतिशत सम्पत्ति पुगेको छ ।
सन् २०२२ मा भारतका सर्वाधिक धनाढ्य व्यक्ति गौतम अदानीको सम्पत्ति ४६ प्रतिशतले बढेको थियो भने देशका १०० सर्वाधिक धनीहरूको कुल सम्पत्ति ६६० अर्ब डलर थियो ।