
पोखरामा क्षतिग्रस्त भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परेका ६९ जनाको शव संकलन गरी अस्पतालमा सनाखत जारी रहँदा अझै तीन जना भने फेला परेका छैनन्।
६८ जनाको शव फेला पारेको लामो समयपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले एक जनाको शव भने सेती नदीबाट आज दिउँसो निकालेको थियो।
हराइरहेका बाँकी जनाको खोजी कार्य जारी रहँदा एउटा खुट्टा, एउटा हात र करङ फेला परेको उद्धारमा खटिएको प्रहरीले जनाएको छ। तर उक्त टुक्राहरू एकै व्यक्तिको हो या फरक फरक मानिसको हो भन्ने खुलेको छैन।
उद्धार टोलीले आजका लागि उद्धार कार्य स्थगित गरेको छ। भोलि फेरि बिहानैबाट उद्धार शुरु गरिने जनाइएको छ। उद्धारमा सरकारले सबैखाले सुरक्षा निकायलाई प्रयोग गरिरहेको छ।
काठमाडौंबाट उडेको जहाज आइतबार बिहान ११ बजे दुर्घटनाग्रस्त भएको थियो। विमानमा ७२ जना सवार थिए।