पुस २५ गतेदेखि नारायणी नदी किनारमा सञ्चालन भइरहेको १४ औँ संस्करणको चितवन महोत्सव सोमबार शोक सभा गर्दै शुरु गरिएको छ । आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सोमबार चितवन महोत्सव सर्वसाधारणका लागि खुला गरेसँगै औपचारिक रुपमा शोकसभा गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समितिका संयोजक चुननारायण श्रेष्ठले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले उद्योग व्यवसायीलाई स्तब्ध बनाएको बताए । अध्यक्ष श्रेष्ठले दुर्घटनामा परी दिवङ्गत हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारहरुमा उद्योग वाणिज्य संघको तर्फबाट समवेदना व्यक्त गरे । शोकसभासँगै शोकपुस्तिका तयार पारेर सचिवालयमा राखिएको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
केसीकाअनुसार उक्त शोकसभामा उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी, सदस्य एवं उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम शुरु भएसँगै आधाघण्टा शोकधुन बजाएर आइतबारको घटनाप्रति दुःख व्यक्त गरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।