
आज मंगलबार मन्त्रिपरिषद विस्तार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरुसँगको आन्तरिक छलफल पछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् । नयाँ मन्त्रिहरुको शपथ आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा तय भइसकेको छ । यद्यपि मन्त्री र मन्त्रालयको अन्तिम टुङ्गो लाग्न भने बाँकी छ ।
दलका नेताहरुले आफ्नो दलको आन्तरिक बैठकमा दलको तर्फबाट सहभागी हुने मन्त्री र मन्त्रालयबारे छलफल गर्नेभएका छन् । शपथअघि आज त्यसबारे टुङ्गो लागेपछि सत्ता साझेदार दलहरुले मन्त्रीको अन्तिम नामावली प्रधानमन्त्री प्रचण्डलाई बुझाउने छन् । प्रधानमन्त्तीको सचिवालयका अनुसार मन्त्री हुनेहरुको नामावली दिउँसो १२ बजेसम्म प्रधानमन्त्रीसमक्ष आइपुग्नेछ ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले आफूलाई पुस २६ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत दिने सबै दलका नेतासँग छलफल गर्दैछन् । आज अपरान्ह ४ बजे बालुवाटारमा दलका नेताहरुसँग छलफल हुन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।
आजको सर्वदलीय बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र सभामुखको निर्वाचनबारे समेत छलफल हुनेछ । सभामुखको निर्वाचन माघ ५ गतेका लागि तय भइसकेको छ भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन माघको अन्तिमतिर गर्ने तयारी दलका नेताहरुको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासका मत दिने सबै दलका नेतासँगको छलफल र परामर्शमा त्यसबारे निर्णय हुने शर्माले बताए ।
यसअघि हिजो अबेर साँझसम्म बसेको सत्ता साझेदार दलका नेताहरुको बैठकले दलले पाउने मन्त्रालयबारे करिब टुङ्गो लगाइसकेको छ । दलको निर्णयअनुसार सत्ता साझेदार सबैभन्दा ठूलो दल नेकपा (एमाले) ८ मन्त्रालय पाउने, सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले ४ मन्त्रालय पाउने सहमति बनेको छ । ८ सांसद बरावर एक मन्त्रालय लिनेगरी दलका नेताबीच सहमति बनेकाले बाँकी सत्ता साझेदार साना दलले पनि त्यहीअनुसार मन्त्रालय पाउनेछन् ।