
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । सोमबार अबेरसम्म बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार हुने र मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको जानकारी दिए ।
सत्ता साझेदार दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएको थियो । बालुवाटार बैठकले प्रचण्ड र ओलीबीच मन्त्रीहरुको भागबण्डाका विषयमा भएको सहमतिलाई थप छलफल गरेर अन्तिम रूप दिइएको बताइएको छ ।
प्रधानमन्त्रीमा १० पुसमा नियुक्त भएर प्रचण्डले ११ पुसमा शपथ लिएका थिए । शपथ लिएकै दिन उनले अरू तीन मन्त्रीलाई जिम्मेवारी तोकेका थिए । चार मन्त्रीलाई जिम्मेवारी नतोकेका प्रचण्डले मंगलबार भने मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
००००
सत्ता साझेदार दल जसपाले मन्त्रालयको भागबण्डामा असहमति जनाएको छ । जसपालाई २ मन्त्रालय दिने सत्ता साझेदार दलमा सहमति भएपनि सो पार्टीले चित्त नबुझाएको हो ।
जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले मन्त्रालय बाँडफाँडमा पार्टीको असहमति रहेको बताए ।
००००
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आफन्तलाई जिम्मा लगाउन थालिएको छ । सोमबार गण्डकी अस्पतालमा पोस्टमार्टमपछि तीन जना मृतकको शव परिवारलाई जिम्मा लगाइएको हो ।
कास्कीका एसपी अजय केसीले अन्य शवको पनि पोष्टमार्टम भइरहेको बताए । विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भने भोलि हेलिकप्टरबाट काठमाठौँ ल्याइने भएको छ ।
दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट भोलि बिहान ८ बजे काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि पठाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ ।
००००
विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा विभिन्न सङ्घसंस्थाको आयोजनामा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ । उपत्यकासहित देशका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको हो ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ । प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीहरुलाई नबोल्न निर्देशन दिएको हो।
००००
राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा निधन भएकाहरूको शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरूको बीमा पाटोमा कुनै समस्या नरहेको बताए।
००००
पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ककपिटमा रहेको ब्ल्याक बक्स र फ्लाइट डाटा रेकर्डर भेटिएको छ । सेनाको उद्दार टोलीले ब्ल्याक बक्स फेला पारेको हो ।
००००
चालु आर्थिक वर्ष २०७९–०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ ।
पुस मसान्तसम्म रू छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा रू चार खर्ब ९० अर्ब चार करोड ३८ लाख बराबर मात्रै असुली भएको अर्थ मन्त्रालयले जनाएको छ । यो अर्धवार्षिक लक्ष्यको ७५ दशमलव २० प्रतिशत बराबर हो । अर्थात् चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा २४ दशमलव ८० प्रतिशत विन्दुले न्यून देखिएको छ ।
००००
भारतीय आयल कर्पोरेसनले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढाएर पठाएको आयाल निगमले जानकारी दिएको छ । निगमका अनुसार डिजेलमा भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।
००००
बागमती प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न बैठकबाट स्वीकृति प्रदान गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त अध्यादेशलाई स्वीकृति प्रदान गर्न प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रस्ताव टेबुल गरेका थिए।
००००
नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशसभाको मुख्य सचेतकमा कुन्दनराज काफ्ले चयन भएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।
००००
लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । पाल्पा–२ (ख) बाट निर्वाचित उनी बसन्त घर्ती मगरको नामले बढी परिचित छन् । सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा सभामुखमा उनको मात्र उम्मेदवारी उनी निर्विरोध भएका हुन् ।
००००
प्रहरीले नाबालकको हत्या गर्ने १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले भान्जाको हत्या गर्ने बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीलाई आइतवार साँझ नियन्त्रणमा लिएको हो ।
पुरीले खुर्पा प्रहार गरी आइतवार दिउँसो आफ्नै आँगनमा रहेको मन्दिर परिसरमा ८ वर्षीय भान्जा भिजन घर्तीको हत्या गरेका थिए ।
००००
मोरङ कारागारमा रहेका अभिषेक गिरीलाई मकवानपुरको भीम फेदी कारागार स्थानान्तरण गरिने भएको छ । उनीमाथि कारागारमा आतंक मच्चाएको आरोप लाग्ने गरेको छ । गिरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन्। गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार व्यवस्थापन विभागले गिरीलाई स्थानान्तरण गर्न लागिएको कारागार प्रशासनले जनाएको छ ।