तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो ।
विसं २०७५ माघमा निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३० प्रतिशतमात्रै काम सकिएको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
“निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन, सम्बन्धित निकायमा पनि पटक–पटक ध्यानाकर्षण गरायौँ”, उनले भने । त्रिशूली नदीको वारिपारि ‘फाउण्डेशन’मात्र बनेको छ । अब ‘आकर्’ को काम शुरु हुन लागेको अध्यक्ष चुमानले बताए ।
एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उक्त पुलको स्थलगत अवलोकन गरेका छन् । मन्त्रालयका सचिव र महानिर्देशकसहितको टोलीले पुलको अवलोकन गरी पुलको कामलाई तीव्रता दिन निर्देशन दिएको छ ।
“महानिर्देशकज्यूले निर्माण व्यवसायीलाई फोन गरी यही आर्थिक वर्षभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ, निर्माण व्यवसायीले पैसाको अभावका कारण काम गर्न ढिलाइ भएको बताउनुभएको छ”, अध्यक्ष चुमानले भने, “पैसाको अभावलाई मन्त्रालयबाटै केही समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको छ । पुल निर्माणको ठेक्का मृत सञ्जिबनी निर्माण कम्पनी हेटौँडाले पाएको छ ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको छ ।
उक्त पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारयणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । रासस