
बाग्मती प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत दिन कांग्रेस बाग्मती प्रदेशको कार्यसम्पादन समितिले निर्देशन दिएको छ ।
समितिको बैठकले कांग्रेस प्रदेश संसदीय दललाई मुख्यमन्त्रीमा शालिकराम जमकट्टेलाई विश्वासको मत दिन निर्देशन दिएको हो ।
कांग्रेस बाग्मती प्रदेशका प्रवक्ता तिलक रुवालले कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिन दललाई निर्देशन दिएको जानकारी दिए ।
तर विश्वासको मत दिए पनि पार्टी प्रतिपक्षमा बस्ने उनले बताए । यस अघि २६ पुसमा कांग्रेसले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि विश्वासको मत दिएको थियो ।
मुख्यमन्त्री जमकट्टेलले आज विश्वासको मत लिंदैछन् ।
११० सांसद रहेको बाग्मतीमा बहुमतका लागि ५६ सांसदको आवश्यकता पर्छ ।
बाग्मतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपा १३, नेकपा एसका ७, नेककिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य छन् ।
जमकट्टेललाई एमाले, माओवादी, राप्रपा, नेकपा एस र हाम्रो नेपाली पार्टीको समर्थन छ ।