
प्रतिनिधिसभाको सभामुख निर्वाचनको कार्यतालिका प्रकाशित भएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलवार निर्वाचन कार्यक्रम प्रकाशित गरेका हुन् ।
निर्वाचन कार्यक्रमअनुसार बुधवार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यतालिका छ । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ ।
माघ ५ गते बिहीवार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन हुनेछ ।
सत्तारुढ गठबन्धनबीच सभामुख एमालेले पाउने सहमति भएको छ । तर, एमालेले अहिलेसम्म उम्मेदवार अगाडि सारेको छैन । कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने सम्भावना छ ।
सभामुखको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता जेष्ठ सदस्य पशुपति शमशेर जबराले गरिरहेका छन् ।