
संघीय संसद्मा ‘ह्याट्रिक’ गरेका अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
२०७० को निर्वाचनमा समानुपातिबाट संसद् यात्रा तय गरेका मोदी तेस्रोपटकमा मन्त्री बनेका हुन् ।
२०७४ को निर्वाचनमा उनले कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । २०७९ को आम निर्वाचनमा उनले एमालेका विनोद ढकाललाई हराए ।
मोरङकै स्थानीय मोदीको राजनीतिक जीवन २०५६ देखि शुरू भएको हो । मोदी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य हुँदै केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य बने ।
मोदी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बने । उनले २०६० मा पक्राउ परी २ वर्ष ३ महिनासम्म जेल जीवन बिताएका थिए ।
उनी आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । कर्मचारी परिचालनको नेतृत्व गर्नुपर्ने मन्त्रालयमा उनी पुगेका छन् ।
उनी आफ्नो आक्रामक छविका कारण परिचित छन् । केही समयअघि उनले कोशी अस्पतालका डाक्टरलाई हातपात गरेका थिए ।
डेंगु परीक्षण गर्न कोशी अस्पताल पुगेका मोदीलाई परीक्षण नै नगरी डेंगु होइन भनेपछि उनले परीक्षण गर्न फेरि आग्रह गरेका थिए ।
तर डाक्टरले डेंगु परीक्षण गर्न नमानेपछि मोदीले थप्पड हानेका थिए । त्यसपछि उनको परीक्षण भएको थियो ।
स्थायी सरकार मानिने कर्मचारीतन्त्रको सञ्चालन र समन्वयको जिम्मा अब उनको काँधमा पुगेको छ ।
कक्षा १२ सम्म मात्रै अध्ययन गरेका मन्त्री मोदीले कर्मचारीसँगको सम्बन्ध सुधार गरेर संयमित रूपमा काम गर्लान् कि आफ्नो आक्रामक छवि कायमै राख्लान्, त्यो भने हेर्न बाँकी नै छ ।