
मधेश प्रदेशसभा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।
प्रदेश सभाको मंगलवारको बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित संख्या १०३ मध्ये ७४ मत प्राप्त गरे । उनको विपक्षमा २९ मत परेको छ । यसअघि उनी नेकपा एमालेका तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
मण्डललाई नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी ८ दलले समर्थन गरेका थिए ।
सभामुखका लागि नेपाली कांग्रेसका जङ्गीलाल राय यादव पनि प्रतिस्पर्धामा थिए । उनलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको थियो ।