के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
एक साताअघि युट्युबबाट सार्वजनिक भएको गजल गीत हो, ‘के लत बस्यो...’ ।
२० हजार पनि सब्सक्राइबर नभएको युट्युब च्यानलमा सार्वजनिक गजलको सुरुवाती भ्युज निकै कम थियो ।
शास्त्रीय सङ्गीतमा तयार गजल गीत जब स्रोता दर्शकहरुको कान र आँखामा पर्दै गयो, आफ्नो सामाजिक सञ्जालमा सेयर गर्न थाले ।
शब्द, संगीत र स्वरको त्रिवेणी भन्दै थुप्रै चर्चित कलाकारहरूले समेत गजललाई सेयर गरे । हजारौंले टिकटक भिडियो बनाए । अनि विस्तारै गजलको भिडियोले युट्युबमा समेत निकै राम्रो भ्युज पाउँदै गयो ।
मंगलबार दिउँसोसम्म झन्डै २ लाख रहेको भिडियोको भ्युज बिहीवार दिउँसोसम्म ८ लाख पुगिसकेको छ ।
युट्युबमा ७ हजार बढी प्रतिक्रियाहरू छन्, ति सबैमा गजलको खुलेर तारिफ गरिएको छ ।
यस गजललाई डा. प्रदीप कुमार मैनालीले रचना गरेका हुन् । तिलक सिंह पेलाले गजलमा संगीत र स्वर दिएका हुन् । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् । रेकर्डिङ स्टुडियोमा नै कुनै तामझामबीना भिडियोको छायाँकन गरेर सार्वजनिक गरिएको हो ।
अहिले भाइरल गीतको लहरमा यस गजलले चौतर्फी चर्चा पाएको हो ।
सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । यसअघि पनि उनका केही गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए । यद्यपि, उनी लामो समयपछि फेरि एकपटक गजल गीतमार्फत चर्चामा आएका हुन् ।