
यतिबेला तराईको बाढीले जनताको जनजीवन प्रभावित छ । नेपाली जनताका लागि भने वर्षेनी दोहोरिने यो ‘दुःख’ मा सरकार पनि मौन हुन्छ । जनता केही समय बोल्छन्, केही समयपछि यसबारेमा कहिल्यै विषयको उठान गर्दैनन् ।
बाढीले यतिबेला पूरै देश दुखेको छ । यही दुखलाई सम्प्रेषण गर्ने माध्यम बनेको छ गीत संगीत पनि ।
साहित्यकार तथा गीतकार संगीत श्रोताले ०६५ मा कोशी बाँधले निम्त्याएको बाढी र पहाडमा गइरहने पहिरोलाई आधार बनाएर गीत रचना गरे ‘चरी लैजा समाचार... ।’
त्यतिबेला लेखिएको गीत अहिले पनि सान्दर्भिक लाग्छ । अर्थात बाढीले दिने चोट रोकिएको छैन ।
‘साहित्यप्रतिको रुचिले गीत त लेख्थें, तर मुख्य विधा संगीत हो भन्ने लाग्दैनथ्यो ।’ संगीत श्रोता भन्छन्, ‘विभिन्न कार्यक्रममा यही गीत सुनाउँदा साथीहरुले रेकर्ड गर्न सल्लाह दिन्थे ।’
साथीहरुकै सल्लाललाई मानेर गीत रेकर्ड गराउने योजना बनाए । उनको योजनामा साथ दिएका थिए गायक अञ्जान बाबुले । गण्डक क्षेत्रमा गीत सुन्दै हुर्किएका अञ्जान बाबु र संगीत श्रोतालाई देउडा खालको गीत गाउन केही असजिलो पनि थियो ।
यही गीत चिया गफमा टेबुल बजाउँदै सुनाउँथे संगीत श्रोताले । चियाको चुस्कीसँगै टेबुलमा बजाइने यो गीत सुन्दा रमाइलो लाग्थ्यो । भावनात्मक लाग्थ्यो । लाग्थ्यो, गीतले बाढीपीडितको आवाज बोलिरहेको छ । तर, चर्चामा आउला भन्ने पनि लागेको थिएन । ‘आफूलाई मन परेर गीत गाएँ, यो गीत स्रोताले यति रुचाउनुहुन्छ भन्ने पनि लागेको थिएन ।’ गायक अञ्जान बाबु थप्छन्, ‘अहिले बल्ल गीतको चर्चा हुन थालेको छ ।’
अञ्जान बाबुको गायकीलाई धेरैले रुचाएका छन् । बेलाबेलामा मन छुने गीत गाउनुभयो भन्ने प्रतिक्रिया पाउँदा उनलाई रमाइलो लाग्छ । त्यसो त उनलाई रेडियो नेपालमा स्वर परीक्षण पास गर्छु भन्दा नै थाहा थियो लोकगीतमा मेरो स्वरले साथ दिन्छ भन्ने ।
अञ्जान बाबु र संगीत श्रोताको सम्बन्ध गीतमा मात्र छैन । दुवै पर्वतकै छिमेकी हुन् । नाताले दाजुभाइ पनि । त्यसैले पनि यी दुईको कुरा मिल्छ । ‘उनी संगीत र लेखनमा रुचि राख्छन्, मलाई गाउन रमाइलो लाग्छ ।’ अञ्जान थप्छन्, ‘भूकम्पको कथामाथि गाइएको गीत पनि श्रोताले रुचाउनुभएको छ ।’
संगीत श्रोताले आफूलाई यही नामले चिनाउन चाहन्छन् । नाममै संगीतको श्रोता भनेर खुलाए पनि उनको कमाइ खाने बाटो भनेको पत्रकारिता हो । साहित्यमा पनि उस्तै सक्रिय छन् । प्रगतीशील लेखक संघका सचिवालय सदस्य पनि हुन् संगीत श्रोता । ‘गणतन्त्रसँगै जनताको सत्ता आएको बेला बाढीले तराईलाई तहसनहस बनाएको थियो, मैले गीतमार्फत जनताको आवाज लेखेको हुँ ।’ संगीत श्रोता भन्छन् ।
‘चरी लैजा समाचार’ त्यतिबेला भन्दा अहिले अझ धेरैलाई मन परेको छ । गीत राम्रो भन्दै गायक तथा संगीतकारलाई फोन तथा म्यासेज आउन थालेका छन् । तर त्यतिबेला भने यो गीत गुपचुपजस्तै थियो ।
किन गुपचुप? ‘बजार मिडियाबाजी भएको थियो, हामीलाई राम्रो गीत बनाउन सके प्रचार नगरेपनि चर्चित हुन्छ भन्ने लाग्थ्यो ।’ संगीत श्रोता थप्छन्, ‘त्यतिबेला खासै चर्चामा आएन । अहिले धेरैले सुनेर मन छोएको बताउनुहुन्छ ।’
गीतकार संगीत श्रोताको भनाइसँग अञ्जान बाबुको पनि सहमति छ । ‘यही गीत ०७१ सालमा हिट्स एफएम अवार्डमा उत्कृष्ट लोकगीत पनि बन्यो तर चर्चामा आएन, हामीले न विज्ञापन ग–यौं, न त कुनै मिडियालाई दियौं ।’ अञ्जान बाबु मुस्कुराउँदै सुनाउँछन्, ‘हामीले चर्चा होला भन्ने सोचेका पनि थिएनौं ।’
यसपालीको बाढीमा गीतमार्फत बाढीपीडितलाई सम्बोधन गरिएको पनि शायद यही गीत होला ।
तर गीत तयार गर्नलाई महिनौं समय लागेको थियो । अहिले युट्युबको थुप्रै च्यानलमा भेटिन्छ । यतिबेला यो गीत सार्वजनिक गीतजस्तै बनिरहेको छ । संगीत श्रोता र अञ्जान बाबु दुवैले त्यतिबेला गीतको संरक्षणमा चासो नदिएको हो कि भन्ने कुरालाई भने स्वीकार्छन् । ‘यो गीत अहिले मात्र होइन, कालान्तरमा पनि सुनिनेछ ।’, अञ्जान थप्छन् ।
रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा गीतको बारेमा कतै केही नआएपनि ‘चरी लैजा समाचार’ ले वर्षेनी सन्देश बोकेर बजिरहन्छ । चरीको माध्यमबाट बाढीपीडितसँग समाचार पु–याउनुपर्ने स्थिति अहिले त छैन तर राहत अझैपनि पीडितसामू पुग्दैन । तिनै बाढीपीडितले यो गीत नसुनेका हुन सक्लान् तर सामाजिक सञ्जालमा गीत शेयर गर्दै पीडितको पीडामा सामेल हुने श्रोता भने प्रसस्तै भेटिन्छन् ।