२४ जेठ २०८३, आइतबार

खोटेहाङ–काठमाडौं बस सेवा सञ्चालन

खोटेहाङ–काठमाडौं बस सेवा सञ्चालन

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाबाट पहिलोपटक पूर्वी तराई तथा राजधानी काठमाडौंसम्मको सिधा बस सेवा सञ्चालनमा आएको छ ।

खोटाङ यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले वडा नम्बर ३ सावाकटहरेको निगालेबाट काठमाडौं र पूर्व तराईको इटहरीसम्म दैनिक बस सेवा सञ्चालन गरेको हो ।

खोटेहाङको वाखुताङ–काठमाडौं दैनिक बिहान ४ बजे, वाखुताङ–गाईघाट बिहान ५ः३० बजे, खोटाङबजार–काठमाडौं बिहान ५ बजे, सिम्पानी–काठमाडौं बिहान ६ः३० बजे र खोटाङबजार–गाईघाट बिहान ६ः३० बजे बस छुट्ने व्यवस्था मिलाइएको छ । 

सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै खोटाङ यातायात प्रालिले खोटेहाङबाट पूर्वी तराई तथा काठमाडौंसम्मको सिधा यातायात सेवा सञ्चालनमा ल्याएको प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

गाउँपालिकाको विभिन्न ठाउँबाट सिधा यातायात सेवा सञ्चालन भएपछि दक्षिणी क्षेत्रका वासिन्दाले उदयपुरको बेल्टारसम्म पुगेर बस चढ्नुपर्ने बाध्यता हटेको छ । १० स्थानीय तह रहेको खोटाङका गाउँगाउँमा यातायातको पहुँच सहज हुँदै गएको छ ।

दुर्गम क्षेत्रका यात्रुले २ दिनसम्म हिँडेर बस चढ्नुपर्ने बाध्यता विद्यमान छ । सोही समस्यालाई मध्यजनर गरेर गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले सिधा बस सेवा सञ्चालन गरेको हिङमाङ बताउँछन् ।

खोटेहाङ गाउँपालिकाले सदरमुकाम दिक्तेल हुँदै काठमाडौं तथा उदयुपर–इटहरी सिधा यातायात सञ्जाल जोड्ने गरी सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । यसअघि निर्माण गरिएका सडक मर्मत गरेर यातायात सञ्चालन ल्याइएपछि ग्रामीण क्षेत्रका स्थानीय वासिन्दालाई आवतजावत गर्न सहज भएको छ । अधिकांश ग्रामीण सडक मापदण्ड अनुसारका नभएकाले दुर्घटना जोखिम भने उत्तिकै छ । 

खोटेहाङ गाउँपालिका र खोटाङ यातायात प्रालि व्यवसायी संघको साझेदारीमा भाडादर समेत कायम गरिएको छ । खोटेहाङको वाखुताङ–काठमाडौंसम्म प्रतिव्यक्ति २ हजार ७००, खोटाङबजार–काठमाडौं २ हजार ५००, सिम्पानी–काठमाडौं २ हजार २०० तथा रसुवाघाट–काठमाडौं १ हजार ९०० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

वाखुताङ–गाईघाट १ हजार ४००, खोटाङबजार–गाईघाट १ हजार २००, खोटाङबजार–इटहरी १ हजार ६००, वाखुताङ–इटहरी १ हजार ८००, सिम्पानी–इटहरी १ हजार ५००, रोक्सिङभञ्ज्याङ–गाईघाट १ हजार २००, खोटाङबजार–रसुवाघाट ६०० र चिप्रिङ–गाईघाट १ हजार ३०० रुपैयाँ भाडादर कायम गरिएको महासचिव हिङमाङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्