
पोखरा महोत्सवको रमाइलोबीच पनि बिहीवार केही महिला कुरुसमा औंला चलाइरहेका भेटिए । महोत्सवको एक व्यावसायिक कक्षमा टुक्रुक्क बसेका उनीहरू सीप सिक्ने ध्याउन्नमा थिए ।
ऊनीको धागोबाट उनीहरू स्वीटर, झोला, टोपी, पञ्जा आदि बुनिरहेका थिए ।
महोत्सव अवधिभरलाई निःशुल्क हाते बुनाइ तालिमको प्रबन्ध गरिएपछि महिला सीप सिक्न लालायित देखिएका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालयको सहयोगमा महोत्सव आयोजक युनाइटेड क्लब पोखराले महिलालाई लक्ष्य गरी सीपमूलक तालिम दिएको हो ।
सीप सिकाएर महिलालाई स्वरोजगार बन्ने बाटो देखाउन छोटो अवधिका लागि भए पनि तालिमको अवसर दिइएको परिषद्का प्रशिक्षक भीमकुमारी पुनले बताइन् । उनका अनुसार गत पुस २७ गते महोत्सव शुरू भएयता हालसम्म २० जना तालिममा सहभागी भएका छन् ।
‘केही दिदीबहिनी त झोला, कपडा बुन्न सक्ने भइसक्नुभएको छ,’ उनले भनिन्, ‘महोत्सवको समयले मात्रै पुगेन भने उहाँहरूलाई पछि पनि सिकाउँछौं ।’
पुनले यसअघि लेखनाथ र प्रदर्शनी केन्द्रमा भएको महोत्सवमा पनि महिलालाई स्वरोजगार तालिम दिएको सुनाइन् ।
पोखरा–१४ छिनेडाँडाकी भगवती भुजेल सोही कक्षमा बच्चाका लागि मोजा बुन्दै थिइन् । उमेरले ६० नाघ्नै लाग्दा बुनाइ तालिममा सहभागी हुन पाउँदा खुशी लागेको उनले बताइन् । ‘सीप सिके काम लाग्ला भनेर तालिममा आएकी हुँ,’ उनले भनिन् ।
महिलाले बनाएका हस्तकलाका सामग्रीको बिक्रीकक्ष पनि सँगै राखिएको छ । स्थानीय सीप र उत्पादनको प्रवद्र्धनका लागि परिषद्सँग मिलेर तालिम आयोजना गरिएको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । ‘महिलालाई उद्यमशील बनाउन यो हाम्रो सानो प्रयास मात्र हो,’ उनले भने ।
अमरसिंह चौरमा जारी महोत्सव आउँदो सोमवारसम्म चल्नेछ । महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ । रमाइलो बाल उद्यान, कलाकारको सांगीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यंग्य प्रहसन, घोडा सवार लगायतले मेलामा आकर्षण बढाएका छन् ।