
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।
शुक्रवार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अंगदान गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महंगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’
‘केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ । मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु । यसलाई सम्वोधन गरिनेछ ।’
‘नेपालमा अहिले वर्षमा करीब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ । त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ । बाँकी अन्य संस्थाहरूले वर्षमा १०० बिरामीको मिर्गाैला प्रत्यारोपण गर्दै आइएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो । त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ । मिर्गाैला प्रत्यारोपणका लागि वार्षिक रूपमा करोडौं रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि भूमिका खेलको छ । यसका लागि केन्द्रलाई धन्यवाद दिन्छु ।’
प्रधानमन्त्री प्रचण्डले थपे, ‘यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन । यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ । साथै ७ वटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईंहरूको मागप्रति गम्भीर छु ।’