ललितपुरको महालक्ष्मीस्थानमा शुक्रबार गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका भाडाका बस, ट्याम्पो, फोर्स गाडी र पिकअपभ्यान लगायतका ११ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा आज दिउँसो १०२ वटा सवारी साधन चेकजाँच गरिएकोमा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिस्रिएका सवारी साधन कारबाहीमा परेका हुन् ।
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै काठमाडौँको बबरमहलमा शुक्रबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने ७ वटा सवारी साधन कारबाहीमा परेका छन् ।