डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आएका छन् । उनले निगालोको डोको, छाप्रीलगायत सामग्री बनाउने गर्छन् ।
निगालोबाट विभिन्न सामान बनाएर बिक्री गरेर उनले १५ वर्षदेखि घर व्यवहार चलाउँदै आएका छन् । १० जनाको परिवार उनकै कमाइबाट पालिने गरेको छ ।
‘आम्दानीको कुनै स्रोत नभएर खाली बस्नुभन्दा सीप सिकेर काम गरेको छु । १ महिने साना तथा घरेलु कार्यालय राजपुरले दिएको बास, निगालोसम्बन्धी तालिम लिएर अहिले यही डोको बुन्ने पेशाले घरपरिवार पालेको छु,’ उनले भने ।
डोको र छाप्री बुनेर गाउँघरमा घुम्ती व्यापार गरेर वार्षिक ८० हजार कमाउने गरेको उनले बताए ।
कहिले त निगालोका सामग्री साटेर अन्न, तेल खुर्सानी ल्याउने गरेको उनले बताए । उनले आफूहरू जस्ता सीप भएकालाई स्थानीय सरकारले उद्योग खोलेर रोजगारीको र्सिजना गरिदिए धेरैको रोजगारी हुने सुझाव दिए ।
शेरबहादुर भुल मात्र नभएर यो गाउँमा बसोबास गर्ने करीब १५० घरधुरी दलित समुदायका व्यक्तिको पेशा नै डोको, डालो, छाप्री बनाएर बिक्री गर्नु हो । खेतीपातीबाट ३ महिनासम्म पनि गुजारा चलाउन नसकिने भएपछि उनीहरूले यसलाई वैकल्पिक पेशा बनाएका छन् ।
‘छोराछोरीेको पढाइ खर्च र आफ्नो जीविकोपार्जन यसैबाट चलेको छ,’ स्थानीय जवान भुल भन्छन्, ‘दलित समुदायका परिवारसँग खेतीयोग्य जमिन नहुँदा ३ महिना खान नपुग्ने, भारत तथा तेस्रो मुलुकमा गएर काम पनि गर्न नसकिने भएकाले हामीले निगालोका सामग्री बनाएर बिक्री गर्नुपरेको छ ।’
सँगै उत्पादन भएका बस्तुलाई बिक्री गर्न बजारीकारणका लागि स्थानीय सरकारले कुनै पहल नगरेको उनको गुनासो छ ।
स्थानीय सरकारले सीपमूलक तालिमको आयोजना गरी बढीभन्दा बढी सहभागी बनाइ आत्मार्निभर बन्न सहयोग गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए । जनतालाई कुनै न कुनै क्षेत्रबाट सहयोग गर्न सबैसँग सहकार्य गरी स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिकाउन बजारीकरणमा पहल गरिने पनि उनको भनाइ थियो ।