मानव सेवा आश्रमले आफ्नो नामअनुसार बेसहाराका लागि सहारा दिँदै आएको छ ।
आश्रमले ‘मानवीयताको कुनै सीमा हुँदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा विक्रम संवत् २०६९ भदौ १३ गतेबाट स्थापित मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा विस्तार गरेको छ । अहिले देशभरका १९ जिल्लाको २३ सेवा केन्द्रबाट सहयोगापेक्षीहरूको उद्धार गरी पालनपोषण गरिँदै आएको छ ।
विक्रम संवत् २०७४ चैत १७ गतेदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा मानव सेवाले सेवा विस्तार गरेको हो । यहाँ छोरेपाटन र हेम्जामा सेवा केन्द्र स्थापना गरी सेवा दिन थालेको मानव सेवा आश्रमका कोषाध्यक्ष तथा गण्डकी संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।
‘हामीले २ सेवा केन्द्रमा अहिले १६३ जनालाई सेवा दिइरहेका छौं,’ उनले भने ।
पोखरामा सेवा विस्तारका लागि ९ करोड लागतमा आफ्नै सुविधा सम्पन्न भवन बनाउँदै गरेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । आश्रमले पोखरा २५ हेम्जा बबियातरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलब्ध गराएको ६३ रोपनी जग्गामा २५० जना अट्ने भवन बनाउँदैछ ।
‘प्रदेशभरका सहयोगापेक्षी मानवहरुलाई एकै ठाँउमा राख्ने गरी बबियातरामा भवन बनाउन लागिएको हो,’ उनले भने ।
त्यसमा गण्डकी प्रदेश सरकारले अहिलेसम्म १ करोड ४० लाख सहयोग गरेको मानव सेवा आश्रमका कोषाध्यक्ष तथा गण्डकी संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए । राज्यसँगै अन्य दाताको सहयोगमा करीब ५ करोड रुपैयाँ बराबरको काम सकिसकेको उनको भनाइ छ । भवन सम्पन्न गर्न अझै ४ करोडको काम बाँकी छ । यसका लागि मानवसेवा आश्रमले सबै क्षेत्रसँग सहयोगको अपिल गरिहेको छ ।
रकम जुटाउन आश्रम आफैंले पनि विविध कार्यक्रम गरिरहेको छ । केही दिन अघि मानवताका लागि सांगीतिक अभियान गरेको आश्रमले महायज्ञको तयारी गरिरहेको छ । भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ माघ २० गतेदेखि २७ गतेसम्म आश्रमको भवन निर्माणस्थल हेमजामा महायज्ञ हुने भएको महायज्ञ संयोजक मोतिबहादुर थापाले जानकारी दिए ।
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथावाचन गर्नेछन् । महायज्ञमा नियमित रूपमा बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ बजेदेखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साढे ४ बजे प्रसाद ग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने भागवत भाष्कर कमलनयन गौतमले बताए । महायज्ञअन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिने जनाइएको छ ।