०४ असार २०८३, बिहीबार
पर्यटन

हिमाल आरोहीका ‘गाइड’ ३ दाजुभाइ

माघ ७, २०७९
हिमाल आरोहीका ‘गाइड’ ३ दाजुभाइ

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको उत्पादनले स्थानीय जनतालाई ६ महिना पनि खान पुग्दैन । यहाँ आलु, गहुँ, फापर जस्ता बाली उत्पादन हुन्छन् ।

उत्पादन कम भएको र खान–लगाउन नपुग्ने भए पनि यहाँका युवा निराश छैनन् । अन्य ठाउँका युवाहरू वैदेशिक रोजगारीमा आकर्षित हुँदा यहाँका युवा भने विदेशबाट आउने पर्यटकलाई घुमाएर पैसा कमाउने गर्छन् ।

पर्यटकको ‘गाइड’ बनेर स्थानीय युवाहरू पैसा कमाउँदै आएका छन् । गाउँपालिकाका अध्यक्ष मिङ्गा छिरी शेर्पाका अनुसार पासाङल्हामु गाउँपालिकाका मात्रै ४ हजार युवाहरू पर्यटक घुमाउने गाइड बनेका छन् ।

गाउँपालिकाले गाइड बन्नेका लागि तालिम समेत दिने गरेको छ । गत वर्ष पालिकामा मात्रै ६० हजारभन्दा बढी पर्यटक प्रवेश गरेको मिङ्गा छिरीले बताए । 

पालिकामै बस्ने पेम्बा छिरी शेर्पाका ३ जना दाजुभाइ हिमाल आरोहीका गाइड छन्, पेम्बा कान्छा हुन् । दक्षिण एसियाको अग्लो हिमाल सगरमाथाको आरोहण गरिसकेका छन् उनले । चाइनिज पर्यटकलाई उनले आरोहण गराएका छन् ।

पेम्बा छिरीले २ वर्षअघि पहिलोपटक आरोहण गरेका थिए । २२ वर्षको उमेरमा पहिलोपटक उनले हिमाल आरोहण गरेका थिए । गाउँकै विद्यालयमा ११ कक्षामा पढ्ने उनी उनले ट्रेकिङ तथा आरोहणको तालिम लिएका थिए । १५ दिनको तालिम लिएर हिमाल चढेको उनले बताए ।

टे«निङ धेरै समय लिइराख्नु नपर्ने उनी बताउँछन् । ‘बाहिरबाट आएका पर्यटकलाई चिसोसँग घुलमिल हुन समय लाग्ने भएकाले अप्ठ्यारो लाग्छ,’ उनले भने, ‘यही जन्मेर हुर्केकोलाई धेरै समस्या हुँदैन ।’ उनका माइला दाइ डा. कृपा शेर्पा भने साना–ठूला गरी १५–१६ पटक हिमाल चढेका छन् । विदेशी नागरिकलाई लिएर उनी हिमाल चढेका हुन् । उनी १८ वर्ष अगाडि पर्यटकको गाइड बनेर हिमाल चढेका थिए ।

साइला दाइ लाक्पा छिरी शेर्पाले पनि ९ पटक गाइड बनेर विदेशी पर्यटकलाई आरोहण गराएका छन् । हिमालको काखमा जग्गा जमिन भए पनि उत्पादन कम हुने गरेकाले परिवारका ३ जना दाजुभाइ पर्यटक घुमाउने गाइड बनेका हुन् । आफ्नो उत्पादनले खान–लाउन नपुगेपछि दाजुभाइ नै गाइड बनेका छन् । १ पटक हिमाल गाइड बनेर चढेबापत ५–६ लाख रुपैयाँसम्म लिने गर्छन् ।

वर्षमा २ पटक हिमाल चढ्नका लागि उपयुक्त समय मानिन्छ । चैत, वैशाख र असोज–कात्तिक । अन्य महिना उपयुक्त मानिँदैन । सगरमाथाको ६ लाख रुपैयाँसम्म लिने गरेका उनीहरूले अन्य हिमालमा भने कम लिने गरेका छन् ।

पहिलोपटक चढ्दा लुगा किन्न नै नपुग्ने उनीहरू बताउँछन् । लुगा महंगो भएकाले पनि पहिलोपटक मात्रै चढ्दा घाटा हुने गरेको छ । वेश क्याम्पसम्म पुग्दा छुट्टै र त्यहाँभन्दा माथि चढ्दा छुट्टै लुगा लगाएर उनीहरू आरोहीलाई घुमाउँछन् । तीनै जना दाजुभाइले एकैदिनमा पर्यटकलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने गरेका छन् । अन्य गाइडले चुचुरोमा पुर्‍याउन २ दिन लगाउने गरेका छन् । चुचुरोमा पुगेर ओर्लनका लागि २ दिन लाग्ने गरेको उनीहरू बताउँछन् ।

हिमाल चढ्न आउने विदेशी पर्यटकले पुराना गाइड खोज्छन् । जति धेरै पुरानो गाइड गरेको कागजात आफूसँग भयो, त्यति नै माग बढ्ने गरेको पेम्बाको भनाइ छ ।

अमेरिका, चीन, जापान लगायतका देशबाट आउने हिमाल आरोहण गर्ने तथा ट्रेकिङ गर्ने यात्रुलाई घुमाउने गरेको पेम्बा बताउँछन् । ट्रेकिङ गर्न आएकाहरू हिमाली क्षेत्रको चिसोसँग घुलमिल भएपछि आरोही बन्ने गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा मात्र होइन, अन्य हिमाल पनि उत्तिकै आकर्षक हुने गरेका छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमै भएका कारणले पनि पर्यटकको रोजाइ हुने गरेको छ । 

ओढ्ने, ओछ्याउने, खाना र अक्सिजनको भारीसँगै धेरै जोस बोकेर हिमाल उक्लिने युवाहरूको पनि कमी छैन । हिमाली भेगका ६० प्रतिशतभन्दा बढी युवाहरू यो पेशामा आबद्ध भएका पेम्बाको अनुमान छ । चुचुरोमा पुगेर फर्किंदाको खुशीले उनीहरूलाई छुट्टै मज्जा दिन्छ ।

आरोहणको मौसममा कमाएको पैसाले बेमौसममा पनि गुजारा चलाउनुपर्छ । नेपालमा हरेक वर्ष मार्चदेखि मे र अगस्तदेखि डिसेम्बर महिनामा विदेशी पर्वतारोही आउने गर्छन्, जुन हिमाल चढ्नका लागि राम्रो मौसम मानिन्छ । ३ जना दाजुभाइले नै सल्लाह गरेर आरोहण गराउँछन् । आधार शिविरभन्दा माथि जानेहरूलाई ज्यालाबाहेक ५ लाखभन्दा माथि दिने गरिएको छ । आधार शिविरसम्म छुट्टै रेट कायम गरिएको हुन्छ, उनीहरूको भत्ता छुट्टै हुन्छ । पेम्बाका दिदीबहिनी पर्यटकहरूका लागि खान बनाउने काम गर्छन् । 

salt training

कमेन्ट गर्नुहोस्