उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले त्यस्तो बताए । सत्ता साझेदार दलबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाए पनि आफू तयार रहेको उनको भनाइ छ ।
उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन शुरु गरेमा आफू तयार रहेको उनले बताए । गृहमन्त्री लामिछानेले भने, ‘उपप्रधानमन्त्रीहरु बन्दैगएका कुराहरु छन् । यसले थप आर्थिक भार पार्ने भन्दा पनि गठबन्धनबाट गर्ने भनिएको हो । हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन ।’
गृहमन्त्री लामिछानेले आफूले सरकारबाट काम गर्दा नतिजा निकाल्नेगरी काम गर्ने बताए । उनले नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने पनि बताए । उनले भने, हामी नतिजा निकाल्ने गरी काम गर्छौं । प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन ।’
मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका हुन् । शनिवारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो ? भन्दै प्रश्न गरेका थिए ।