प्रदेश प्रमुख परशुराम खापुङले जनताको स्वास्थ्य सेवामा सरकारी अस्पतालले मात्र समाधान गर्न नभ्याउने भएकाले व्यक्तिगत अस्पतालहरु सञ्चालनमा आएको बताएका छन् । अस्पतालहरु जनताको सेवामा तल्लिन हुनुपर्छ उनले भने । मोरङको उर्लाबारीस्थति अरनिको अस्पतालको नवौं साधारण सभाको शनिबार उदघाटन गर्दै प्रदेश प्रमुखले सो कुरा बताएका हुन् । अस्पतालले नाफामुखी होइन, सेवामुखी हुनेभएकाले अस्पताललाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।
हरेक सभा समारोहमा शिक्षा र स्वास्थ्यको सन्दर्भमा आफूले महत्व दिएको चर्चा गर्दै उनले भने –राज्यले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा राखेको छ । शिक्षा र स्वास्थ्यमा अगाडि बढ्न सकेनौ भने मुलुक अगाडि बढ्न सक्दैन ।
छोटो समयमै अरिनको अस्पतालले यस उर्लाबारी क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको बताउँदै प्रगतिको खवरले आफूलाई खुशी लागेको चर्चा गरे । जनताको स्वास्थ्यमा सेवामात्र होइन, सानै ठाउँबाट भए पनि स्वास्थ्यसेवाका साथै रोजगारीको क्षेत्रमा यसले टेवा दिएकाले अस्पताल धन्यवादको पात्र रहेको उनले बताए ।
नवौं साधारणसभाको अवसर पारेर राधिका माविमा कक्षा १२ मा अध्ययनरत सुनिता चेपाङ, ११ मा अध्ययनरत सुमित्रा किस्कु, जालमा मावि पथरीमा कक्षा १० मा अध्ययनरत अर्जुन मगरलाई जनही १० हजारको दरले छात्रवृति प्रदान गरिएको छ ।
त्यसैगरी कवि मञ्जुल मितेरी, नमूना बालगृहकी सञ्चालिका मिना बराल, पत्रकार सरोज बस्नेत, जगन्नाथ भट्टराई, राजघाट स्वास्थ्यचौकी इन्चार्ज सन्दिप नेयोङ, पूर्व मेयर खड्ग फागोलाई प्रदेश प्रमुखले सम्मानित गरे । अस्पतालका सञ्चालक आइन्बा पोमुले ७८ जनाको सक्रियतामा शुरु गरिएको अस्पतालमा देशविदेशमा रहेका युवाहरुको लगानी रहेको बताइएको छ ।