२२ जेठ २०८३, शुक्रबार

दैनिक उपभोग्यवस्तुको खाद्य प्रयोगशालामा परीक्षण

दैनिक उपभोग्यवस्तुको खाद्य प्रयोगशालामा परीक्षण

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु गुणस्तरयुक्त खाद्य उपलब्ध गराउन प्रयोगशाला परीक्षण शुरु गरेको छ । गत जेठदेखि सञ्चालनमा आएको सा प्रयोगशाला अहिले परीक्षण शुरु गरिएको कार्यालयले जनाएको हो । यसले गुणस्तरयुक्त खाद्य पाउने नागरिक अधिकारलाई सघाउ पुग्ने कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिए । 

“अहिले दैनिक उपभोग्यवस्तुको प्रयोगशालामा मापन भइरहेको पनि उनले बताए । दैनिक उपभोग्य वस्तुको गुणस्तरयुक्त छ कि छैन ? भनेर हामीले कर्णालीमा पहिलो प्रयोगशाला परीक्षण शुरु गरेका छौँ” उनले भने, “अब गुणस्तर मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता त हटेको छ भने नागरिकलाई गुणस्तरयुक्त खाद्य वस्तु उपभोगमा समेत सघाउ पुगेको छ ।”

यसैबीच कार्यालयले तीन महिनाको प्रगति सार्वजनिक गरेको छ । दोस्रो त्रैमासिक प्रगति सार्वजनिक गर्दै ४१ दशमलव ९० प्रतिशत लक्ष्य पूरा गरेको कार्यालयको भनाइ छ । जसअन्तर्गत कार्यालयले ४१ दशमलव ९० प्रतिशत भारित प्रगति र ३० दशमलव ७७ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ ।

कार्यालयका निमित्त प्रमुख थापाका अनुसार पहिलो त्रैमासिकमा कार्यालयले ४० दशमलव ६७ प्रतिशत भारित प्रगति र ५६ दशमलव ६८ प्रतिशत वित्तीय प्रगति गरेको थियो । कार्यालयले गुणस्तरीय खाद्यान्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढवा दिएको उनको भनाइ छ । कार्यालयले तीन महिनामा प्रदेशभर खाद्य बजार ३४, खाद्य उद्योग २९, दाना बजार दुई, दूध, तेल, पानी उत्पादन गर्ने उद्योग १९, होटल रेष्टुरेन्ट, मीठाइ पसल ३३ गरी एक सय १४ वटा दैनिक उपभोग्य वस्तुको अनुगमन गरेको जनाएको छ ।

अनुगमनका क्रममा कार्यालयले रु छ लाख ८५ हजार सात सय मूल्य बराबरको गैरखाद्य वस्तु जफत गरी नष्ट गरेको छ भने छ महिनामा रु आठ लाख २० हजार दुई सय मूल्यको खाद्य नष्ट गरेको निमित्त प्रमुख थापाले बताए । कार्यालयले हालसम्म एक लाख ९२ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भए पनि भौगोलिक विकटता, सीमित स्रोत साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको उनले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्