
काठमाडौं, ४ भदौ — गोर्खाल्यान्ड आन्दोलनलाई तार्किक निष्कर्षमा पु–याउनका लागि भारतका गृहमन्त्री राजनाथ सिंहले सबै सरोकारवालालाई अपिल गरेको केही दिनमै दार्जीलिङ पहाडमा हिंसा भड्किएको छ ।

घटनापछि प्रहरीले गोर्खा जनमुक्ति मोर्चा (गोजमो) प्रमुख विमल गुरुङका साथै नेताहरू प्रकाश गुरुङ, प्रवीण सुब्बा तथा अन्यका विरुद्ध दार्जीलिङ सदर प्रहरी थानामा जाहेरी दर्ता गरेको छ ।
यी नेताहरूलाई अवैध गतिविधि (निवारण) ऐनअन्तर्गत जाहेरी हालिएको हो ।
शुक्रवार लेबोङस्थित गोजमो पार्टी कार्यालयमा आगजनी गरिएको थियो । उस्तै घटनामा सरकारी वन विभागको कार्यालय र बंगलामा आगजनी भएको थियो ।
शुक्रवार अबेर राति दार्जीलिङमा विशाल बम विस्फोटन भएको थियो ।
प्रहरीका अनुसार पुरानो सुपरमार्केट एरियामा बम विस्फोट भएपछि केही पसलहरूमा क्षति पुगेको थियो । घटनामा कोही पनि घाइते भएका छैनन् ।
विस्फोटलगत्तै गोजमोले यसको भर्त्सना गर्दै यो गोर्खाल्यान्ड आन्दोलनलाई बदनाम गरेको सुनियोजित षड्यन्त्र भएको बतायो ।
‘हामीहरू घटनाको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ समितिको माग गर्छौं । यो गोजमो नेतृत्वलाई बदनाम गर्ने अनि पहाडहरूमा कानून व्यवस्था बिथोल्ने षड्यन्त्र हो,’ गोजमोको वक्तव्यमा लेखिएको छ ।
एजेन्सी