
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो पार्टीको नीति रहने बताएका छन् ।
सत्यसँग लड्दा सिङ भाँचिने उनले टिप्पणी गरे।
एमाले स्कुल विभागले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले एमालेले छलछाम नभई सधैँ इमानको बाटो लिने बताएका हुन् । ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने हाम्रो नीति हो । सत्यसँग बाझिएका शक्तिसँग झुक्दैनौँ । सत्यसँग लड्दा सिङ भाँचिन्छ’, ओलीले भने, ‘सत्यको बाटो लिने हो छलछामको होइन । इमानको बाटो लिने हो, छलछाम होइन ।’
ओलीले देशका समस्याको समाधान गर्न आफ्नो पार्टी सक्षम रहेको बताए । ‘कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्छ, उसको महाधिवेशनमा न नीतिमा छलफल हुँदैन’, ओलीले भने, ‘कांग्रेसको लोकतन्त्रको परिभाषा आफू कसरी सत्तामा पुग्ने भन्ने मात्र हो ।’